यातना दिएको आरोपमा शिक्षक गिरफ्तार

  ०७३ भदौ १ गते 

एक १२ वर्षीया बालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ४२ वर्षीय शिक्षक इन्द्रवीर प्रधानलाई प्रहरीले भदौ १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले आरोपित शिक्षकले यौनजन्य हिंसा गरेको भन्दै सोही विद्यालयका प्रधानाध्यापकलाई मौखिक उजुरी दिएकी थिइन् ।

प्रधानाध्यापकलाई उजुरी गरेको भन्दै आरोपित शिक्षकले साथीहरूका बीचमा कुटपिट गरेपछि पीडित बालिकाले घरमा आएर मुसा मार्न राखेको विष सेवन गरेको पीडित बालिकाका अभिभावकले आरोप लगाएका छन् ।

आरोपित शिक्षले साउन ३१ गते शारीरिक र मानसिक यातना दिएपछि लज्जित भएर बालिकाले विष सेवन गरेको पीडितका अभिभावकको आरोप छ । बालिकालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको भएपनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ लगिएको उनको परिवारले जनाएको छ ।

आरोपित शिक्षकविरुद्ध बालिकाका अभिभावकले साउन ३२ गते उजुरी दिएपछि प्रहरीले आवश्यक अनुसन्धानका लागि भन्दै भदौ १ गते गिरफ्तार गरेको जनाएको छ ।

शिक्षा नियमावलीले बालमैत्री शिक्षण सिकाइ र उनीहरूको कमजोरीलाई बालबिज्याईंका रूपमा मानेर सम्झाई बुझाई पढाउनुपर्नेमा उल्टै नराम्रो व्यवहार गरेकाले दोषी माथि छानबिन गरी कारबाही गर्नुपर्ने जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष लक्ष्मण चौहानले माग गरेका छन् ।


किरण राई