म्याद सकिएका औषधि भेटिएको भन्दै औषधि पसलमा सिलबन्दी

  ०७५ माघ १२ गते

म्याद सकिएका औषधि र स्वास्थ्य सामग्री प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यलय, कास्कीको अनुगमन टोलीले माघ १० गते पोखरा मनपा–९ स्थित महेन्द्रपुलका पोखरा प्याथोलोजी क्लिनिक र लाइफ चेक प्याथोलोजिमा सिलबन्दी गरेको छ ।

पोखरा प्याथोलोजी क्लिनिकमा ल्याबमा प्रयोग गरिने केमिकल लगायतका सात प्रकारका औषधिको म्याद सकिएको पाइएका कारण सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले बताए ।

शाहीका अनुसार २०६४ सालदेखि सञ्चालनमा आएको ल्याब स्वीकृति बिना नै सञ्चालन रहेको पाइएको छ ।

अनुगमन टोलीले प्याथोलोजीका सञ्चालकलाई व्यवसायको स्वीकृति लिएर सात दिन भित्रमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुनको लागि निर्देशन दिएको छ ।

सिलबन्दी गरिएको लाइफ चेक प्याथोलोजीमा पनि म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय, कास्कीका अधिकृत नानीबाबु ढकालले जानकारी दिए ।

सोही स्थानमा रहेको आयष फार्मेसीमा पनि म्याद सकिएका औषधि भेटिएपछि अनुगमन टोलीले फार्मेसी सञ्चालकलाई १० दिन भित्र जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ ।

नेपालको संविधान अन्र्तगत मौलिक हकको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । यस्तै स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ तुल्याएर नागरिकको पहुँच स्थापित गर्नका लागि जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक समेत असोज २ गते प्रमाणिकरण भइसकेको छ ।

नागरिकको स्वास्थ सेवालाई प्रभावकारी, विश्वसनीय तथा सर्वसुलभ बनाउने उद्धेश्यले बनेको विधेयकमा स्वास्थ सेवामा कसुर गरेको पाइएमा न्युनतम ५ हजार रुपियाँदेखि १० लाख रुपियाँसम्म जरिबाना तथा अधिकतम २ वर्षसम्म कैद सजाय तोकेको छ ।

अनुसन्धान पश्चात् औषधि पसल सञ्चालकहरूलाई विधेयक अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले जानकारी दिए ।


सुशन घिमिरे