म्याग्दीका २२ मतदानस्थल सम्वेदनशील

  ०७४ कात्तिक २२ गते

मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले २२ मतदानस्थाललाई सम्वेदनशील मतदानस्थल मान्दै विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ ।

यसभन्दा पहिलाको निर्वाचनको अवस्था केलाउँदा, भौगोलिक विकटता, सञ्चार, यातायात सुविधाको पहुँचलगायतका आधारमा सम्वेदनशील मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको हो । म्याग्दी जिल्लामा ७२ मतदानस्थल र १ सय ६ मतदान केन्द्र रहेका छन् ।

निर्वाचन विशेष सुरक्षा योजना अनुसार सम्वेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था मिलाउन उच्च प्राथमिकता दिइने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीको चण्डीका गणबाट डिएसपी सुशील सुवेदीको नेतृत्वमा अस्थायी बेस क्याम्प स्थापना गरिएको छ । नेपाली सेनाको टोली सुरक्षाका लागि परिचालन भएको छ ।

निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि मतदानस्थलहरूको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालासहित, सुरक्षा अधिकारीहरूको टोलीले स्थलगत अध्ययनमा समेत खटिएका छन् ।

मतदानस्थलहरूको बस्तुगत अवस्थाको बारेमा जानकारी लिएर आवश्यक रणनीति तय गर्न स्थलगत अध्ययन तीव्र बनाइएको प्रजिअ अधिकारीले बताए ।

चुनाव प्रचारका क्रममा निर्वाचन आचारसंहिता पालनाको अवस्थाको बारेमा पनि अनुगमन भइरहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए ।

मङ्सिर १० गतेको मतदानका लागि म्याग्दीमा आवश्यक पर्ने मतपत्रलगायतका सामग्रीहरू आयोगबाट बेनीमा आउनेक्रम रहेको छ ।

केही मतपत्र तथा आवश्यक सामग्रीहरू आइसकेको छ भने बाँकी यो हप्ता भित्र आइसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


अमृत बास्कुने