मौन अवधि सुरू हुनु अगाडि मोटरसाइकल र्‍याली !

  ०७४ मङ्सिर १८ गते

राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र स्वतन्त्र उम्मेदवारले मङ्सिर १८ गते मोटरसाइकल र्‍याली निकालेका छन् ।

मध्य रातिदेखि मौन अवधि सुरू हुने भएपछि अन्तिम पटक शक्ति प्रदर्शन गर्दै ती पार्टीका उम्मेदवारहरू, नेता-कार्यकर्ताहरू सम्मिलित दर्जनौ संख्यामा रहेको झण्डासहितको मोटरसाइकल, जीपसहितको जुलुसले लाउडस्पिकर र माइकमा नाराबाजी गर्दै नगर परिक्रमा गरेका छन् ।

राजविराजमा निक्लिएको छुट्टा-छुट्टै जुलुसमा प्रदेश सभाका उम्मेदवारहरू काङ्ग्रेसका महानन्द यादव, राजपा नेपालका उम्मेदवार मनिष सुमन, स्वतन्त्र उम्मेदवारहरू लक्ष्मण यादव र अरूण देव सहभागी थिए ।

यसैगरी वाम गठबन्धन, काङ्ग्रेस, राजपा, फोरमलगायतका दल तथा स्वतन्त्र उम्मेदवारको पक्षमा मत माग्दै राजविराजमा सिटी रिक्सामा माइकिङ जारी राखिएको छ ।

निर्वाचन आचारसंहिता-२०७२ को परिच्छेद दुईको ५ क (१३) मा निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसमान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरूगाडा जस्ता सवारी साधनको र्‍याली गर्न गराउन नहुने उल्लेख छ ।


मनोहरकुमार पोखरेल