मोर्चाद्वारा एमालेका जिल्ला नेतामाथि मोसो दलेर दुर्व्यवहार

  ०७३ फागुन २० गते

नेकपा (एमाले) सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई राजविराज नपा-१ स्थित मालपोत कार्यालय अगाडि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले फागुन २० गते मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

मेची महाकाली राष्ट्रिय अभियानको तयारी बैठक गरी घर फर्किरहेका चौधरी चढेको मोटरसाइकलर्ला १०-१२ वटा मोटरसाइकलमा आएका मोर्चाका स्थानीय नेता, कार्यकर्ताहरूले घेरी दुर्व्यवहार गर्दै मोसो दलेर भागेको उनले बताए ।

जिल्ला पार्टी कार्यालय आइरहेका एमालेका जिल्ला सचिव शम्भु यादवलाईसमेत मोर्चाका कार्यकर्ताहरूले बाटोमा दुर्व्यवहार गर्दै उनले बोकेको झोला खोसेको बताए ।

अभियानलाई सफल बनाउन जुटेको एमाले सप्तरीले फागुन १९ गते राजविराजमा घरदैलो कार्यक्रम गरेपछि कालो झण्डा र लाठीसहित निस्किएको मोर्चाका नेता-कार्यकर्ताहरूको जुलुसले आगामी कार्यक्रमहरू स्थगन गर्न भनेपछि दुवै पक्षबिच विवाद भएको थियो ।

नेकपा एमाले सप्तरीले 'लोकतन्त्रको उपहास हुने गरी शान्तिपूर्ण गतिविधि गर्न दिन्न भनि अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्ने मोर्चाका कार्यकर्ताको व्यवहारप्रति खेद ब्यक्त' गरेको छ ।


मनोहरकुमार पोखरेल