मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

  ०७३ चैत ७ गते

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङले चैत ७ गते जिल्ला समन्वय समिति मोरङको कार्यालयमा तालबन्दी गरेको छ ।

सङ्घीय समाजबादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा गएको टोलीले कार्यालय खुल्ने समयमा तालाबन्दी गर्दै सूचना पाटीसमेत तोडफोड गरेको छ । तालाबन्दीपछि उनीहरूले कार्यालय अगाडि नाराबाजी गरेका थिए । तालाबन्दीका कारण कार्यलयको काम ठप्प भएको छ ।

मोर्चाका कार्यकर्ताले मोरङको सुनबर्षि नगरपालिका तथा तीन वटा गाउँपालिकामासमेत तालाबन्दी गर्दै कागजपत्र नियन्त्रणमा लिएका मोर्चाले जनाएको छ । फोरमका अध्यक्ष यादवले सुनबर्षि नगरपालिका सहित कटहरी, दादरवेरिया, धनपाल गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको बताए ।

अध्यक्ष यादवले मधेस र मधेसीका माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने बताए । उनल चैत ३० गतेसम्म यो अभियानलाई निरन्तरता दिने बताए । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै पार्टीको केन्द्रीय कार्यक्रम अनुसार तालाबन्दी गरिएको मोर्चाको भनाइ छ । मोरङमा स्थानीय तह पुर्नसंरचना अन्तरगत एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ वटा गाउँपालिकासमेत १७ वटा स्थानीय तह बनाइएको छ ।


इन्दिरा भट्टराई