मोटरसाइकल दाइजो नपाएको निहुँमा एक महिलाको हत्या, आरोपित पति र ससुरा गिरफ्तार

  ०७६ भदौ २२ गते

मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका-७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको हत्या गरिएको छ ।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको उजुरी अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै छोरीलाई कुटपिट गर्दथे ।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ ।

भदौ १९ गते दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको उनले दावी गरे ।

जेठी छोरी सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सकेजति दाइजो दिएको, तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले अनावश्यक रुपमा मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको उनले बताए ।

केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले पति र घरका अन्य सदस्यले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाब दिने गरेको कुरा आफूलाई सुनाएको सहनीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकका पति रामबाबु सहनी र ससुरा मोहन सहनीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले बताए ।

घटना शंकास्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए । पोष्टमार्टम पश्चात शव परिवारजनलाई जिम्मा लगाइएको पनि उनले बताए । समाचार स्रोतः अनलाइनखबर


अनलाइन डेस्क