मेयर पदका उम्मेदवारको घरमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम प्रहार

  ०७४ असार ९ गते

गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रहेका गोकर्ण भट्टको अत्तरिया बजारमा रहेको घरमा असार ९ गते बिहान ३ बजे अज्ञात समूहले प्रेसर कुकर बम विष्फोट गराएको छ ।

भट्टको घरमा खासै क्षति नभएको र अहिले सो ठाँउको सुरक्षा व्यवस्था कडा पारेको प्रहरीले जनाएको छ । निर्वाचन नजिकिएको समयमा अत्तरिया बजारमै रहेको भट्टको घरमा बम पड्काइएपछि सो क्षेत्रमा त्रास फैलिएको छ ।

गोदावरी नपाका मेयर पदका उम्मेदवार भट्टले भने निर्वाचन बिथोल्नका लागि यस्तो क्रियाकलाप गरेको हुन सक्ने बताए ।

बम प्रहार कसले गरेको भन्ने पत्ता लाग्न नसकेको र अहिले अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बीरबहादुर बुढामगरले बताए ।


रविना चौधरी