मृतक बालकका आफन्तद्वारा अञ्चल अस्पतालमा तोडफोड

  ०७५ असोज ६ गते

रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको उपचार नगरी चिकित्सकहरूले मृत घोषणा गरेको आरोप लगाउँदै असोज ६ गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा मृतकका आफन्तहरूले तोडफोड गरेका छन् ।

स्वास्थ्यकर्मीले भने बिना कारण अस्पतालमा तोडफोड गरेको र स्वास्थ्य सेवामा खटिएका अहेव महानारायण पर्सेलासहित स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको भन्दै अस्पतालको सेवा ठप्प पारेका छन् ।

अस्पतालको सेवा ठप्प भएपछि बिरामीहरू मर्काका परेका छन् । अस्पतालमा तनाव बढेपछि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

मृतक बालकका आक्रोशित आफन्तहरूले पोष्टमार्टम कक्षको ढोका तोडफोड गर्दै आकस्मिक कक्षको कुर्सी, टेबुल, झ्याल र कम्प्युटरमा समेत क्षति पु¥याएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले बताए ।

गाउँकै धामीलाई देखाएर ठिक नभएका बालकलाई स्थानीय अहेवबाट देखाउँदा पनि सञ्चो नभएपछि असोज ५ गते साँझ रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गरिएको थियो । युनिक अस्पतालले बालकको मृत्यु भइसकेको बताएपछि बालकलाई असोज ५ गते राति ७ बजे अञ्चल अस्पताल राजविराज ल्याइएको थियो ।

अञ्चल अस्पतालका चिकित्सकहरूले बालकको मृत्यु भइसकेको घोषणा गर्दै उनको शवलाई असोज ५ गते राति नै पोष्टमार्टम कक्षमा राखेका थिए ।

असोज ६ गते बिहान बालकलाई अन्यत्र रिफर गर्न वा आफूहरूको जिम्मा लगाउन आक्रोशित आफन्तहरूले दबाब दिँदा अस्पतालले मृतक बालकको पोष्टमार्टम नगरी लैजान नपाउने भनेपछि बालकका आफन्तहरूले पोष्टमार्टम कक्षको ढोका तोडफोड गर्दै बालकलाई सिरहाको मिर्चैया नगरपालिका चोहर्बास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याएकोमा त्यहाँ पनि मृत घोषणा गरिएको छ ।

त्यहाँ पनि बालक मृत रहेको भनेपछि मृतक बालकलाई पुनः अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकका हजुरबुवा जमाहिर साहले बालकलाई पुनः धामीलाई देखाउने इच्छा जाहेर गरेका छन् ।

लडेर ल्याइएको भनिएका ‘ब्राउट डेथ’ बालकलाई सिपिआर, इसिजीलगायतको सबै चेकजाँच गर्दा मृत्यु भइसकेकोले पोष्टमार्टम कक्षमा राखिएकोमा बिरामीका आफन्तहरूले पोष्टमार्टम गर्न नदिएर असोज ६ गते अस्पतालमा तोडफोड गरी मृत बालकलाई लगेको अस्पतालका मेसु डा. दासले बताए ।

सर्पदंशबाट मृत्यु भएका बिरामी तीन दिनपछि पनि बौरिने अन्धविश्वासका कारण गाउँलेहरूले भ्रम सिर्जना गरेको उनले बताए ।

अस्पतालमा तनाव उत्पन्न भएपछि अस्पतालका मेसु डा. दास, सप्तरीका एसपी विष्ट, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव तथा मृत बालकका आफन्त र स्थानीयबासीबीच भएको छलफलले बालकको पोष्टमार्टम गर्ने र सात दिन भित्र छानबिन गरी प्रतिवेदन बुझाउने सहमति भएको छ ।

photo20180922saptari (1) photo20180922saptari (2) photo20180922saptari (3) photo20180922saptari (4) photo20180922saptari (5)


मनोहरकुमार पोखरेल