मृतकका पीडित परिवारलाई राहत स्वरूप ५ लाख रुपियाँ हस्तान्तरण

  ०७७ साउन १ गते

प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएका १५ वर्षीय राजु सदा, इलाका प्रहरी कार्यालय सबैला हिरासतमा मृत्यु भएका २६ वर्षीय शम्भु सदा र जटही नाकामा मृत्यु भएका २५ वर्षीय बीरेन्द्र गुरमैता यादवको घरमै पुगेर प्रदेश २ का मुख्यमन्त्री लाल बाबु राउतले राहत स्वरूप ५/५ लाख रुपियाँको दरले पीडित परिवारलाई साउन १ गते चेक हस्तान्तरण गर्नु भएको छ ।

photo20200716dhanusha (1)

चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले पीडित परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्षमता अनुसार आर्थिक सहयोग उपलब्ध गराएको र भविष्यमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री राउतले तीनै ओटा घटनाको विभिन्न टोलीमार्फत अनुसन्धान भइरहेको भन्दै प्रतिवेदनको आधारमा दोषी ठहर हुनेहरूमाथि कारवाहीको लागी पहल गर्ने बताउनु भयो ।

चेक हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य राम आशिष यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, जसपा नेता पशुपति यादव लगायतको उपस्थिति रहेको थियो ।

photo20200716dhanusha (2)

प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको असार ३ गते बसेको बैठकले मृतक परिवारलाई ५/५ लाख रुपियाँको दरले राहत दिने निर्णय गरेको थियो ।

जेठ १४ गते धनुषाको भारतीय सीमानाका जटहीमा शहीदनगर नपा९ गोठकोयलपुरका बीरेन्द्र गुरमैता यादवको भोकले छटपटिएर मृत्यु भएको थियो ।

त्यस्तै जेठ २८ गते बिहान इलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षको शौचालयमा शङ्कास्पद अवस्थामा झुण्डिएको अवस्थामा सबैला नपा१२ का सम्भु सदाको मृत्यु भएको थियो ।

त्यस्तै असार ८ गते राति प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा हंसपुर नपा७ प्रसाहीका राजु सदाको उपचार अभावमा मृत्यु भएको पीडित परिवारको आरोप छ ।


दीपेन्द्रप्रसाद सिंह