मृतकका परिवारलाई ३ लाख रुपियाँका दरले राहत दिने प्रदेश सरकारको घोषणा

  ०७५ चैत १८ गते

प्रदेश २ का बारा र पर्सा जिल्लामा चैत १७ गते साँझ हावाहुरीमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपियाँ राहत दिने, घाइतेलाई उपचार खर्च सरकारले व्यहोर्ने र पुनर्वासको पहल गर्ने निर्णय गरेको छ । चैत १८ गते बिहान ७ बजे प्रदेश २ सरकारको मन्त्री परिषद बैठकले सो निर्णय गरेको हो ।

चैत १७ गते राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षति प्रति प्रदेश २ को मन्त्रीपरिषदले गहिरो दुःख व्यक्त गरेको छ ।

बारा र पर्सा जिल्लाका विभिन्न ठाउँमा असिनापानी सँगै हावाहुरीबाट २८ जनाको मृत्यु र ४ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

कलैया र वीरगञ्जलगायतका अस्पतालहरूमा ४ सय भन्दा बढी घाइतेहरु उपचाररत छन् । सुरक्षाकर्मी र स्थानीय उद्वारकर्मीहरू रातिदेखि उद्वार कार्यमा खटिरहेको जनाइएको छ ।


विनोदकुमार रविदास