मुुख्यमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट

  ०७६ मङ्सिर २० गते

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमलाई लक्षित गरेर प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले बम विष्फोट गराएको स्थानीयले बताएका छन् ।

अन्तर जिल्ला जोड्ने सडकको शिलान्यास गर्न मङ्सिर १९ गते हुम्ला आउनु भएका मुख्यमन्त्री शाहीले सो कार्यक्रम सम्पन्न गरी एक विद्यालय भवनको शिलान्यास कार्यक्रममा भाषण गरेको केही समयपछि बम विष्फोट भएको थियो ।

दिउँसो साढे दुुई बजेतिर ताँजाकोट गाउँपालिका–४ गल्लावाडामा मुख्यमन्त्री शाही उपस्थित एक विद्यालयको शिलान्यास कार्यक्रममा मुख्यमन्त्रीले भाषण गरेको केही समयपछि ताँजाकोटकै पाँदा खोला क्षेत्रमा बम विष्फोट गराएको स्थानीय गोरबहादुर मल्लले बताउनु भयो ।

बम विष्फोटबाट कुनै क्षति भने नभएको मल्लले जानकारी दिनुभयो । मुख्यमन्त्रीसँगै साथमा सामाजिक विकास मन्त्री दलबहादुर रावल र नेकपाका जिल्ला अध्यक्ष लालकेश जैशी पनि सँगै हुनु्हुन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय, हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरसँग बुझ्दा आफूलाई घटनाका बारेमा जानकारी नआएको बताउनुभयो ।

उता प्रतिबन्धित नेकपाका हुम्ला जिल्ला सक्रेटरी कुम्भ बुढा (निर्माण)ले आफ्नो पार्टीले बम विष्फोट गराएको फोनमार्फत् स्वीकार गर्नुभएको छ ।

मङ्सिर १९ गते बिहानै पनि बुढाले ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ललाई आज केही हुन सक्ने भन्दै फोनमार्फत् धम्की आएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुुभयो ।


नन्द सिंह