मुस्लिम यूवकसँग प्रेम गरेको भन्दै 'जातीय' बहिष्कार

  ०७४ असोज ११ गते

मुस्लिम युवकसँग प्रेम गरेको भन्दै धनगढीमाई नपा-२ की १८ वर्षीया रमिता सदायलाई स्थानीय सदायहरूले एक हप्तादेखि सामाजिक बहिष्कार गरेका छन् ।

दलित समुदाय भित्रकै करिव ४० घर परिवार रहेको सदाय समुदायले पीडितलाई उनकै घरमा नाकाबन्दी गरेर राखेका छन् भने गाउँमा पानी खानसमेत दिइएको छैन ।

आफ्नै घर छेउमै रहेको सार्वजनिक ट्युवेलमासमेत पानी प्रयोग गर्न दिइएको छैन । रमिताले घर छेउको पानी प्रयोग गर्न नपाएपछि एक किलोमिटरको दुरीमा रहेको चौधरी गाउँबाट पानी ल्याएर गुजारा चलाइरहेकी छन् । उनलाई अरूको घरमा जान र अरू पनि उसको घरमा जान र बोल्न प्रतिबन्ध लगाइएको छ ।

गाउँका अगुवा ५५ वर्षीय श्यामसुन्दर सदाय र उनकी ४७ वर्षीया पत्नी पलासदेवी सदायको अगुवाइमा युवतीलाई सामाजिक बहिष्कार गरिएको जनाइएको छ ।

आफूलाई हरूवाचरूवाहरूको जिल्ला सचिवको परिचय दिने श्यामसुन्दरले प्रधानमन्त्री यस गाउँमा आएपनि आफूले गरेको निर्णयफिर्ता नलिने बताएका छन् । र, उनले गाउँका कसैले पनि रमितालाई पानी दिए उनीहरूलाई पनि सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

धनगढीमाई नगरपालिका-२ धनगडा बस्ने मुस्लिम युवक मो. नसिरसँग प्रेम गरेकी युवती ८ महिनाको गर्भवतीसमेत छिन् । तर, युवतीलाई गर्भवती बनाएर मो. नसिर हालसम्म फरार रहेका छन् । आमा नभएकी रमिताका बाबु कुस्मा सदाय बिरामी छन् । दाजु भाउजूसँग बस्दै आएकी रमितालाई घरमा नराख्न उनका दाजु सञ्जित सदायलाई गाउँलेले ठूलो दबाव दिएका छन् ।

पीडितको छिमेकमा रहेकी सोमनी सदायकी ६ वर्षीया छोरी श्यामा सदा रमिताको घरमा जाँदासमेत श्याम सुन्दरले आफूलाई गाली गरी धम्क्याएको सोमनीले बताइन् ।

सिरहाका मानव अधिकारकर्मीहरूसहित राष्टिय मानव अधिकार आयोग जनकपुरका अधिकृत दिप यादवलगायतको टोलीले असोज ११ गते घटनाको अनुगमन गरेको छ ।

मानव अधिकार संरक्षण केन्द्र सञ्जालले आरोपितहरू श्यासुन्दर सदाय र पलास सदायविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा असोज ११ गते उजुरी दिएर कारबाहीको माग गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुबेदीका अनुसार घटनाको अनुसन्धान गरी आरोपितलाई कारबाही गरिनेछ ।


दुर्गा परियार