मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित, झडपमा ६ जना घाइते

  ०७७ कात्तिक २८ गते

हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याको घटनाको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् ।

मुद्दा कमजोर बनाएर बालिका हत्या जस्तो जघन्य अपराध घटनालाई आरोपितलाई धरौटीमा छोड्न थालेपछि पीडित पक्ष आन्दोलित हुनु परेको उनीहरूले बताएका छन् ।

पीडित पक्ष र प्रहरी, सशस्त्र प्रहरीबिच झडप हँुदा दुवै पक्ष घाइते भएका छन् । पीडित पक्षबाट घाइते हुनेमा खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत गम्भीर घाइते भएका छन् ।

त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन् भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन् ।

photo20201113jumla (1)

दुवै पक्षबाट घाइते भएका व्यक्तिहरूको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भइरहेको छ ।

घाइतेहरूको गोडा, टाउकोमा चोटपटक लागेको छ । प्रहरीले हरिभक्त कठायत र खाम्बा रोकायालाई गिरफ्तार गरेको छ । प्रहरीले भिड नियन्त्रण तथा तिरवितर पार्नका लागि लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको थियो ।

बालिका हत्या आरोपमा कात्तिक ८ गते हिमा गाउँपालिका–३ मोफ्लाका १९ वर्षीय करबहादुर भण्डारी र कात्तिक ५ गते ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

मुद्दा कमजोर बनाएर घटनाका योजनाकारलाई नै धरौटीमा रिहा गर्न थालेपछि पीडित पक्ष आन्दोलित हुनु परेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार असोज १९ गते राति घरबाट बेपत्ता भएकी बालिकाको शव कात्तिक १ गते हिमा गाउँपालिका–१ पागरपालीस्थित हिमा नदीको छेउमा फेला परेको थियो ।

photo20201113jumla (2)

उहाँले भन्नुभयो–‘नदीको तालमा बालिकाको शव गोडामाथि फर्केको र टाउको पानीमा थिग्रिएको अवस्थामा भेटिएको हो । पानीमाथि शव तैरनुपर्ने हो । तर, घाँटीमा डोरी बाँधिएकाले टाउको पानीमा थिग्रिएर बसेको रहेछ । घटनाको सबै प्रकृति हेर्दा हत्या गरिएको भन्ने प्रहरीले आशङ्का गरेको छ ।’

बालिका बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा पनि भेटिएकोले बरामत गरी प्रहरीले मुचुल्कासमेत गरेको छ ।

शवको पोष्टमार्टम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कात्तिक १ गते गरिएको थियो । पोष्टमार्टम गर्दा बालिकाको गर्भमा तीन महिनाको बच्चा देखिएको थियो ।

काफ्लेले भन्नुभयो–‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौँ पठाएको छ । मुद्दा कमजोर पारिएको भन्ने छैन । प्रहरी आफ्नो बुद्धि विवेक र भरपुर क्षमताले घटना अनुसन्धान गरी मुद्दा अगाडि बढाएको छ ।’

photo20201113jumla (3)

पीडित पक्षलाई कुनै शङ्का नगर्न सुझाएको डिएसपी काफ्लेले बताउनुभयो । ‘घटनाको विषयमा राज्यको ध्यानाकर्षण गर्नका लागि ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाउन सकिन्थ्यो ।’–उहाँले भन्नुभयो–‘सिधै ढुङ्गामुढा गर्नुपर्ने आवश्यक थिएन ।’

हत्या गरेको आरोपमा सोही गाउँपालिका–३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीको नाममा मृतक बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लामा कात्तिक २ गते कर्तव्य ज्यानसम्बन्धी उजुरी दिएका थिए ।


मानदत्त रावल