मुक्त हलिया पुनर्स्थापना समस्या समाधान समिति गठन

  ०७७ जेठ ६ गते

भीमदत्त नगरपालिकामा मुक्त हलियाहरूको समस्या समाधान गर्ने उद्देश्यले मुक्त हलिया पुनर्स्थापना समस्या समाधान समिति गठन गरिएको छ ।

नगर कार्यपालिकाको जेठ ५ गते बसेको ४६ औँ बैठकबाट नगर स्तरीय मुक्त हलिया पुनर्स्थापना समस्या समाधान समिति गठन गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो ।

भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा गठित आठ सदस्यीय समितिमा जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय, भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रतिनिधि र संयोजकले तोकेका एक महिला सहित दुई जना मुक्त हलिया सदस्य र समितिको सदस्य सचिवमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

सरकारले ०७६ जेठ ६ गते मुक्त हलिया तथा कमैया परिवार पुनर्स्थापनाको जिम्मेवारी स्थानीय तहलाई दिएको कारण पुनर्स्थापना कार्यलाई सहज बनाउनका लागि नगर स्तरीय समिति गठन गरिएको भिमदत्त नगरपालिकाका प्रमुख विष्टको भनाइ छ ।

कञ्चनपुर जिल्लामा २ हजार ७ सय परिवार मुक्त हलिया रहेकोमा १ हजार ७ सय ८५ मुक्त हलिया परिवारको गत वर्ष पुनर्स्थापना गरिएको थियो ।

सरकारले ०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरे पनि मुक्त हलियाहरूको हालसम्म पुनर्स्थापना भने हुन सकेको छैन् ।

 


कोमलनिरन्जन भाट