मुक्त हलिया परिवारलाई जग्गा धनी प्रमाण–पत्र वितरण

  ०७७ भदौ २२ गते

१२ औँ राष्ट्रिय मुक्त हलिया दिवसको अवसरमा ‘क’ श्रेणीको परिचय–पत्र पाएका घर जग्गा नभएका २५ मुक्त हलिया परिवारलाई शुक्लाफाँटा नगरपालिकाले भदौ २१ गते आवासका लागि जग्गा धनी प्रमाण–पत्र वितरण गरेको छ ।

शुक्लाफाँटा नगरपालिका –१ बन्साहामा  ५० लाख रुपियाँमा मुक्त हलिया परिवारका लागि जग्गा खरिद गरीे २५ जना मुक्त हलिया परिवारलाई जग्गाको लालपुर्जा वितरण गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताउनु् भयो ।

उहाँले भन्नु भयो – ‘घरबास विहीन मुक्त हलिया परिवारलाई जग्गाको मालिक बनाएका छौं । छिट्टै खरिद गरिएको जग्गामा आवास निर्माण गरी हस्तान्तरण गर्छौँ । जग्गा र आवसले मात्रै नपुग्ने भएकाले जीवन उपयोगी सीप सिकाई स्वरोजगार बनाउनका लागि कार्यक्रम सञ्चालनसमेत गर्ने छौँ ।’

वर्षौदेखि घरजग्गा विहीन भएका मुक्त हलिया परिवारको हातहातमा जग्गाधनी पुर्जा वितरण गर्न पाउँदा खुसी लागेको नगर उपप्रमुख तुलसी देवी हमालले बताउनु भयो ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भूमि ऐनको आठौँ संसोधन अनुसार उपलव्ध गराइएको जग्गा खरिद बिक्री गर्न नपाइने बताउनु भयो ।

मुक्त हलिया समाज, कञ्चनपुरका अध्यक्ष शिवी लुहारले मुक्त हलिया परिवारलाई जग्गाधनी प्रमाण–पत्र वितरण  गरेकोमा नगरपालिकाकालाई धन्यवाद  दिनु भयो ।

photo20200907kanchanpur


कोमलनिरन्जन भाट