मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति मानव अधिकार आयोगद्वारा सरोकार व्यक्त

  ०७६ जेठ १ गते

गत वैशाख २७ गते संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति राष्ट्रिय मानव अधिकार आयोगले सरोकार व्यक्त गरेको छ ।

‘प्रेस स्वतन्त्रता, मानव अधिकार र विधिको शासन लोकतन्त्रको अभिन्न अङ्गको रुपमा रहेको हुन्छ । नेपालको संविधान, २०७२ को प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ । मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ को धारा १९ तथा नेपालको संविधानको धारा १७ (२, क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुने व्यवस्था गरेको छ ।’–आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रेस स्वतन्त्रतालाई अनुगमन र नियमन गर्ने प्रस्तावित काउन्सिल स्वतन्त्र र सक्षम भएमा मात्र लोकतन्त्रको मर्यादा रही मानव अधिकार संस्कृति बलियो हुन्छ । प्रचलित प्रेस काउन्सिल ऐन, २०४८ का प्रभावकारी व्यवस्थामा अकारण परिवर्तन गरी यसको स्वायत्ततामा अंकुश लगाउन खोज्नु मानव अधिकारको आधारभूत मान्यता तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल हुन जाने आयोगको निष्कर्ष छ ।’–विज्ञप्तिमा उल्लेख गरिएको छ ।


अनलाइन डेस्क