मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा गिरफ्तार

  ०७७ चैत १८ गते

लहान नपा–८ स्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा सुखिपुर नपा–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले चैत १६ गते गिरफ्तार गरेको छ ।

चैत १ गते दिउँसो मालपोत कार्यालयमा प्रेसरकुकर बम बिष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा आरोपितहरूको संलग्नता खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदिप राजभण्डारीले बताउनु भयो ।

आरोपित अभिमन्यू पाँच वर्षदेखि जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको सदस्य रहेको र दुवै जना आरोपित विभिन्न बम विष्फोटनको मुद्दामा अदालतबाट धरौटीमा रिहा भएको खुल्न आएको एसपी भण्डारीले बताउनु भयो ।

घटना गराउन आरोपितहरूलाई जनतान्त्रिक तराई मुक्त मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा सुखिपुर नपा–८ का रामकुमार यादवले फागुन २६ गते प्रेसरकुकर बम दिएको अनुसन्धानबाट खुल्न आएको एसपी भण्डारीले बताउनु भयो ।

बम विष्फोटनबाट कार्यालयमा आएका सेवाग्राही, कर्मचारी गरी आठ जना घाइते भएका थिए । घाइते हुनेहरूमा सोही कार्यालयका कर्मचारी नायव सुब्बा ३८ वर्षीय शिवकुमार यादव, सेवाग्राहीहरू भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, धनगढीमाई नपा–४ का ३० वर्षीय दिनेश भण्डारी, गोलबजार नपा–६ की ३५ वर्षीया लक्ष्मी राण, ३५ वर्षीया बेचनी मगर, गोलबजार नपा–४ की ३८ वर्षीया फुलकुमारी ठाकुर, लहान नपा–१६ का ४५ वर्षीय लालबाबु बिक र लेखनदास धनगढीमाई नपा–१३ का ८२ वर्षीय भोला बहादुर पाचे मगर रहेका थिए ।

घाइतेहरूको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान र सप्तऋषी अस्पतालमा उपचार भए पनि गम्भीर घाइते हुनुभएका दिनेश भण्डारीलाई सेनाको हेलिकप्टरले थप उपचारको लागि काठमाडौँ लगिएको थियो । उहाँको उपचार हाल काठमाडौँमै भइरहेको छ भने अन्य घाइतेहरू उपचारपछि घर फर्किसकेका छन् ।


दुर्गा परियार