मारूती सिमेन्टका सवारी साधनमा बम विस्फोट

  ०७६ मङ्सिर ५ गते

दुधौली नगरपालिका–१४ को ककुरठाकुरमा अज्ञात पक्षले मङ्सिर ४ गते राति मारूती सिमेन्टका हेवी सवारी साधनमा बम विस्फोट गराएको छ ।

बम विस्फोटबाट सिमेन्टको कच्चा सामग्री चुनढुङ्गा उत्खनन् गर्न गएका तीन ओटा सवारी साधानमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बम विस्फोटबाट एउटा स्काइभेटर पूर्ण रूपमा क्षति भएको छ भने एउटा जेसिवी र एउटा ट्रिपरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताउनुभयो । प्रेसर कुकर बममार्फत सवारीमा क्षति पु¥याएको एसपी सिंहले जानकारी दिनुभएको छ ।

मारूती सिमेन्ट उद्योगका लागि ककुरठाकुर स्थित चुनढुङ्गा उत्खनन्मा प्रयोग गर्दै आएका ६ ओटा स्काइभेटर र जेसीबीलाई लक्षित गर्दै अज्ञात पक्षले बम आक्रमण गरेको उहाँको भनाइ छ ।

राति एकै ठाउँमा पार्किङ गरेर राखिएको अवस्थामा ककुरठाकुरस्थित सिन्धुली र उदयपुर जिल्लाको सिमाना नजिकै रहेको झाँक्रीटारमा अज्ञात पक्षले तीन ओटा प्रेसर कुकर राखेको प्रहरीले जनाएको छ ।

एउटा कुकर विस्फोट भएर क्षति पुगेको छ भने अन्य दुई ओटा प्रेसरकुकर बम स्काइभेटर र जेसीबीमा नै रहेको एसपी सिंहले बताउनुभयो ।

स्काइभेटर र जेसीबीमा राखिएका बम निस्कृय बनाउन नेपाली सेनाको टोली त्यसतर्फ पठाउने तयारी भएको पनि उहाँले बताउनुभयो ।

मङ्सिर ३ गते राति  दुधौली नगरपालिका–१३ मा निर्माण व्यवसायी छेत्र बम्जनको स्काइभेटरमा आगजनी भएको थियो ।

उक्त घटनाको एक दिनपछि ककुरठाकुरमा सिमेन्ट फ्याक्ट्रीको गाडीलक्षित विष्फोट भएको हो । दुवै घटनाको जिम्मा कसैले पनि लिएको छैन ।


बिमला पाण्डे