मापदण्ड विपरीत सञ्चालित बालगृहका सञ्चालक गिरफ्तार

  ०७५ जेठ १३ गते

रुकुम पश्चिम स्थित मुसीकोट नपा-१ बागबजारमा मापदण्ड विपरीत बालगृह सञ्चालन गरेको आरोपमा नर्सिङ हिमालय अनाथ बालगृहका सञ्चालक ४२ वर्षीय विवेक बुढालाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ ।

जुम्लाका २४ जना र रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका नौ जना गरी ३३ जना बालबालिकालाई बावुआमा नभएको झुठा कागजात बनाएर विभिन्न प्रलोभनमा विवेक बुढाले बालगृहमा बालबालिका राख्दै आएका थिए ।

बालबालिकाको तर्फबाट जुम्ला र रुकुमका अधिकारकर्मीको पहलमा सो कुरा पत्ता लागेपछि ती बालबालिकाको जेठ १२ गते उद्धार गरिएको छ । यस घटना सम्बन्धमा जुम्लामा मुद्दा परेको हुँदा गिरफ्तार भएका बुढालाई जुम्ला पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर ऋषि ढुङ्गानाले बताए ।

मानव बेचबिखन तथा ओसारपसार ऐन अतर्गत उनलाई कारबाही हुने इन्स्पेक्टर ढुङ्गानाले बताए । उक्त बालगृहमा बालबालिकाको लागि खाने बस्ने तथा खेल्नका लागि उपयुक्त वातावरण नभएको, साना कोठामा धेरै बालबालिका राखेको, कोठामा पढ्नको लागि बत्ति नभएको, शिक्षकको व्यवस्था नभएको जिल्ला बालकल्याण समिति रुकुमका बाल अधिकार अधिकृत मानविर ओलीले बताए ।

यसअघि पनि मुसिकोट नगरपालिका, जिल्ला बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगर शिक्षा कार्यलयको संयुक्त अनुगमन टोलीले मापदण्डविपरीत बालगृह सञ्चालन भइरहेको फेला पारेको थियो ।


मनिषा के सी