मानसिक स्वास्थ्य बिग्रिएपछि उपचार अभावमा आठ वर्षदेखि बन्दकोठामा तिरूवा दाजुभाइ

  ०७६ भदौ २७ गते

दशरथचन्द नगरपालिका–४, तिरगाउँका २७ वर्षीय रमेश तिरूवा र २३ वर्षीय प्रदिप तिरूवाको मानसिक स्वास्थ्य कमजोर भएपछि उपचारको अभावमा आठ वर्षदेखि बन्द कोठामा थुनिएको छ ।

‘दुई जना बिरामी छोराको उपचारका लागि न पैसा छ, नत एक गाँस अन्न नै छ । चरम गरिवीकै कारण अशक्त बिरामी छोरा छिट्टै मरोस् भनेर दुई दिनमा एक छाक मात्र खाना दिने गरेका छौँ ।’–तिरूवा बन्धुका ६५ वर्षीय बाबु प्रेमराम तिरूवाले भने ।

उनीहरूको अवस्था बुझ्न दशरथचन्द नगरपालिका–४, तिरगाउँ पुग्दा प्रेमका दुवै छोरा भोकले माटो खाँदै थिए ।

शरीरमै दिसापिसाब गरेर दुर्गन्धले भरिएको बन्द कोठामा राखिएका रमेश र प्रदिप भोकले छट्पटाइरहेका थिए ।

आठ वर्ष अगाडि मानसिक सन्तुलन गुमाएका रमेश र प्रदीपले उपचारको नाममा अहिलेसम्म अस्पताल समेत देख्न नपाएका उनीहरूका बाबुले बताए ।

बिहान बेलुकाको छाक टार्न अन्न नभएका कारण छाक बिराउनु परेको बताउँदै प्रेमले भने–‘पैसा छैन । अस्पताल कसरी पु¥याउनु ?’

निराश हुँदै प्रेमले भने–‘आठ वर्ष अगाडि छोराहरू मिस्त्रि काम गर्थे परिवार राम्रै चलेको थियो । एक्कासी दुवै छोराको मानसिक सन्तुलन गुम्यो । त्यसपछि परिवारले दुई छाक खान पाएको छैन । आफूलाई बुढ्यौली लाग्यो । अब त भारी बोक्न नि सकिँदैन । कसरी बाँच्ने हो ?’

‘हामी बुढा–बुढीलाई केही भैहाल्यो भने यिनीहरूको हालत के होला । त्यसैले हामीभन्दा अगाडि नै मरून् बरू । जे परेको सहुँला !’

छोराहरू बन्द गरिएको कोठाको ढोका खोलिदिए घरभित्र भएको पिठो, आँगनको बालुवा र चामल खाने भएकोले दिनभरी आफू घरमा नभएको समयसम्म दुवै छोरालाई कोठा भित्रै थुनेर राख्दै आएको उनले बताए ।

उनले भने–‘दिनभरी कसैको भारी बोक्न पाइन्छ कि भन्दै डोरी समातेर बजार डुलिरहनु मेरो दैनिकी नै बनेको छ । काम पाएको दिन १००–५० रुपियाँ आउँछ । कुनै दिन त्यसै खालि हात घर फर्कनु पर्छ ।’

आठ वर्ष अगाडि गाउँकै सिपालु मिस्त्रिका रूपमा नामले चिनिने तिरूवा दाजुभाइको मानसिक सन्तुलन गुमेपछि हाल उनीहरू कोठा भित्रै थुनिएका हुन् ।

छिमेकी प्रकाश तिरूवाले भने–‘यस्तो दुर्दशा  कसैको  नहोस् ! विचरासित खाना त छैन, उपचार कहाँबाट गरून् ?’

photo20190913baitadi (1)

photo20190913baitadi (2)

photo20190913baitadi (3)


नरी बडु