मानव विकास र वातावरणको अधिकारमाथि बहस चलाउँदै आयोग

  ०७५ पुस १६ गते

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मानव विकास र वातावरणको अधिकारका विषयमा छलफल चलाउन थालेको बताएका छन् ।

पुस १५ गते इलाममा आयोजित विकास वातावरण र मानव अधिकार विषयक छलफल कार्यक्रममा आयोगका सदस्य पाठकले भने–‘संविधानले व्यवस्था गरे अनुसारको मानवको विकास र वातावरणको अधिकारका विषयमा पनि आयोगले छलफल अघि सार्न थालेको छ ।’

‘अहिलेको विकास र वातावरणलाई हेर्दा देश र भावी सन्ततिको भविष्य अन्धकारमय बन्ने खतरा बढेको छ ।’–पाठकले  भने–‘यसअघि नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारतर्फ आयोग केन्द्रीत भएको छ । अब भने विकास र वातावरणको अधिकारका विषयमा केन्द्रीत हुन थालेको छ । छलफलपछि आएका सुझावलाई समेटेर त्यस अनुसार काम गर्न÷गराउन सरकारलाई आयोगले सिफारिस पठाउने छ ।’

कार्यक्रममा सहभागीहरूले विकासका काम गर्दा विनाश बढेको गुनासो गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ इलामका अध्यक्ष अभिषेक एक्तेनले विकासका नाममा जनजातिका चिहान मासेर खेलमैदान निर्माण गर्न थालिएकाले जनजातिको सांस्कृतिक अधिकारमाथि खतरा बढेको बताए ।

नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले डाँडामा बस्ती र खोल्सामा पानीका मुहान हुनुले पानी दुषित भएको भन्दै बस्ती एकीकृत गर्नुपर्ने, स्वास्थ्यको अधिकारप्रति सचेत हुनुपर्ने बताए ।  विकासका लागि भन्दै भएको डोजरको प्रयोगले थप विनास निम्त्याएको नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्यले बताए ।

डिभिजन वन अधिकृत श्रीप्रसाद बरालले विकास निर्माण गर्दा सुरूमा हुने वातावरण प्रभाव मुल्याङ्कनको काम कागजमा मात्र भएको धारणा राखे ।

सूर्योदय नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराईले निजीकरण गरिएका सरकारी चिया बगानमा विषादीको प्रयोगले पानी दुषित भएको र त्यस्तै पानी प्रयोग गर्न सर्वसाधारण बाध्य भएको बताइन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी टङ्क भट्टराईले राजमार्गको २५ मिटर क्षेत्र अतिक्रमण भएको भन्दै त्यसबाट वातावरण प्रदुषण र दुर्घटना बढेकाले अतिक्रमण नियन्त्रण गर्न आयोगको ध्यानाकर्षण गराएका थिए ।


कोकिला ढकाल