मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार 

  ०७५ भदौ ३१ गते

१९ वर्षीया युवतीलाई भारत लगि बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले इलामको पशुपतिनगरबाट दुईजना भारतीय नागरिकलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

भारत दार्जिलिङ जिल्ला राङवाङ सुकिया घर भएका १९ वर्षीय विवेक राई र ३० वर्षीय दलवीर मुखियालाई नेपाल–भारत सीमाना पशुपतिनगरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हेमराज ओलीले बताए ।

ताप्लेजुङबाट फर्कने क्रममा राई र मुखियाले ती युवतीलाई विवाह गर्ने र भारत लगेर जागिर लगाइदिने भन्दै फकाएर आफ्नै गाडीमा राखेर पशुपतिनगर पुर्‍याएको इन्स्पेक्टर ओलीले बताए ।

सीमानामा नेपाल प्रहरीले केरकार गर्छ भन्दै विवेकले पीडित महिलालाई पैदल हिँडाएर फाटक पुर्‍याउन खोज्दा नेपाल प्रहरी र माइती नेपालको संयुक्त गस्ती टोलीले शङ्का लागेर सोधपुछ गर्दा बेचबिखनका लागि नाका कटाउन लागिएको अवस्थामा उनीहरूलाई गिरफ्तार गरिएको इन्स्पेक्टर ओलीको भनाई छ ।


कोकिला ढकाल