मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १३ औँ राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइयो

  ०७६ भदौ २१ गते

“सरकारको प्रतिबद्धताः मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सवैको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १३ औँ राष्ट्रिय दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

इन्सेक गण्डकी प्रदेश कार्यालयका अनुसार भदौ २० गते पोखरामा प्रभातफेरी तथा सडक नाटक प्रदर्शन गरिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय तथा दिवस मूल समारोह समितिको आयोजनामा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनले गरिबी, अशिक्षालगायतका कारणले मानव बेचबिखन भइरहेको बताइन् ।

हरेक मानवमा आर्थिक सशक्तिकरण भएमा मात्र बेचबिखनको जोखिममा नपर्ने कुरामा मन्त्री पुनले जोड दिँदै व्यक्तिहरूमा रहेको विदेश मोहले गर्दा पनि बेचबिखनको खतरा बढिरहेको भनाई राखिन् ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले मन्त्रालयबाट कार्ययोजना बनाएर अगाडी बढ्न जरूरी रहेको बताउँदै तथ्याङ्क अनुसार आगामी वर्षमा बेचबिखनका घटनामा कमी ल्याउन सबै प्रतिबद्ध हुनुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बेचबिखन तथा ओसारपसार न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरू ग्रामीण तहहरूमा पुर्‍याउनु पर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति, कास्कीकी उपाध्यक्ष सावित्री भण्डारीले मानव बेचबिखन कानुनी अपराध भएको बताउँदै सामूहिक प्रयासले मात्रै न्यूनीकरण गर्न सकिने बताइन् ।

दिवस मूल समारोह समितिमा इन्सेक पोखरा, कोपिला नेपाल, थ्री एन्जल्स् नेपाल, गैर सरकारी संस्था महासङ्घ गण्डकी प्रदेश, गैरसरकारी संस्था महासङ्घ कास्की, महिला मानव अधिकार रक्षक सञ्जाल कास्की, नौलो घुम्तीलगायतका सङ्घसंस्था समावेश थिए ।
Photo20190906Kaski01

Photo20190906Kaski02
इन्सेक प्रदेश २ कार्यालयका अनुसार मानव अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घसंस्था, नेपाल प्रहरी र विद्यालयका विद्यार्थीहरूको सहभागितामा विभिन्न कार्यक्रम गरी जनकपुरमा मनाइएको छ ।

जनकपुरस्थित जानकीमन्दिरको प्राङ्गणबाट भदौ २० गते बिहान निकालिएको र्‍याली जनकचोक, भानुचोक हुँदै रेलवे स्टेशनमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले मानव बेचबिखन कानुनी रूपमा दण्डनीय रहेको हुँदा मानव बेचबिखनलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

यसैबिच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाललगायत मानव अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाका प्रतिनिधिहरूले जानकीमन्दिर परिसरमा भदौ २० गते साँझ प्लेकार्ड सहित प्रदर्शन गर्नुका साथै मैनबत्ती प्रज्वलन गरे ।

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस सफल परौँ, मानव बेचबिखन जघन्य अपराध हो, यसलाई पूर्ण रुपमा नियन्त्रण गरौँ र हाम्रो प्रतिबद्धता मानव बेचबिखन विरुद्धको ऐकेबद्धता लगायतका नारा लेखिएको प्लेकार्ड बोकी अधिकारकर्मीहरू र्‍याली तथा मैनबत्ती प्रज्वलन कार्यक्रममा सहभागि भएका थिए ।
photo20190907dhanusha (1)

photo20190907dhanusha (2)

photo20190907dhanusha (3)

photo20190907dhanusha (4)

photo20190907dhanusha (5)

photo20190907dhanusha (6)
इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार जिल्ला प्रशासन कार्यालय, म्याग्दीको आयोजना तथा इन्सेक म्याग्दी, सङ्गम म्याग्दी, मानव अधिकार तथा शान्ति समाज, महिला मानव अधिकार रक्षक सञ्जाल र गुड नेवर्स इन्टरनेशनलको सहकार्यमा भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरूद्धको तेह्रौं राष्ट्रिय दिवस मनाइएको छ ।

‘सरकारको प्रतिबद्धता मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ बेनी बजारको वीरेन्द्रचोकबाट सुरू भएको प्रभातफेरी बेनी बजारको परिक्रमापछि पुनः वीरेन्द्रचोकमै आएर सभामा परिणत भएको थियो ।

सन्देशमुलक प्लेकार्ड सहितको र्‍याली पश्चात् आयोजित सभालाई प्रमुख जिल्ला अधिकारी, ज्ञाननाथ ढकालले सम्बोधन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी ढकालले मानव बेचबिखनको समस्या म्याग्दीमा धेरै नदेखिएको भएपनि सबै नागरिक सचेत बन्न आवश्यक रहेको बताए ।

ढकालले सामाजिक तथा मानव अधिकार र जनचेतनाको क्षेत्रमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाको खबरदारीको आवश्यकता रहेको भनाई राखेका थिए ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, मानव अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।
Photo20190906Myagdi01

Photo20190906Myagdi02
इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित नेपाल– भारत सिमाना जुलाघाट हुँदै भारतको पीथौरागढमा बेचिने बाल मजदुरहरूलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

जुलाघाट नाकाबाट भारतको पीथौरागढ, हल्द्वानी, दिल्लीलगायतका ठाउँमा नेपाली बाल मजदुरहरू बेचिने गरेको र उक्त समस्यालाई रोक्नुपर्ने कार्यक्रममा सहभागी दलित अभियन्ता करन दयालले बताए ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७५/०७६ मा मात्र जुलाघाट नाकाबाट मजदुरको रूपमा भारत जान लागेका २२ जना बालबालिकालाई उद्धार गरिएको थियो ।

चालु आर्थिक वर्ष ०७६/०७७ को हालसम्म तीन जना बालकको उक्त नाकाबाट उद्धार गरएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष ०७४/७५ को तथ्याङ्क हेर्ने हो भने जुलाघाट नाकाबाट उद्धार गरिएका बालबालिको सङ्ख्या ९१ रहेको छ ।

जुलाघाट नाकाबाट बझाङ, टोटी, अछाम, डडेल्धुरा, बाँके, बर्दिया, दैलेखलगायतका क्षेत्रबाट समेत बालबालिकाहरू भारत जाने गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी दिल्लीनारायण पाण्डेले बताए ।

महिला शक्ति केन्द्रका देबु ठगुन्नाले भारतमा मजदुरको रूपमा बेचिने बालबालिका तथा महिलाहरूको प्रमुख कारण गरिबी भएकाले सरकारले गरिबी निवारणका कार्यक्रमहरू ल्याई कार्यान्वयन गर्नुपर्ने बताए ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजमा जनचेतना मुलक र्‍याली र सभा गर्दै भदौ २० गते सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ ।

राजविराज नगर परिक्रमा गर्दै स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा सभामा परिणत भएको कार्यक्रममा सम्बोधन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले मानव बेचबिखन जस्तो घृणित अपराध नियन्त्रणमा सरकारलाई सबैको सहयोग आवश्यक रहेको बताए ।

सूचनाको अभावमा अपराधलाई कानुनी दायरामा ल्याउन गार्‍हो परेको बताउँदै उनले सबैको सहयोगको अपेक्षा गरे ।

जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईले मानव बेचबिखन र लागु औषध जस्ता साझा समस्याविरूद्ध सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

इन्सेकका साधारण सदस्य बैद्यनाथ झालगायतले मानव बेचबिखन तथा ओसारपसारविरूद्ध व्यापक चेतना जगाउनु पर्नेमा जोड दिए ।

र्‍याली र सभामा सुरक्षा निकाय, ज्येष्ठ नागरिक, पूर्व कर्मचारीहरू, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

भदौ १४ गतेदेखि सुरु भएको साप्ताहिक कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा मानव बेचबिखनविरुद्ध अन्तरक्रिया, श्रव्यदृश्य प्रशारण, प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रमहरू गरिएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरूद्धको सार्क महासन्धिलाई व्यवस्थापिका संसदबाट अनुमोदन गरेको दिन ०६३ भदौ २० गतेको स्मरण गर्दै २०६४ सालदेखि प्रत्येक वर्ष भदौ २० गते यस क्षेत्रमा काम गर्ने सरोकारवाला सबै निकाय, सङ्घसंस्था, अधिकारकर्मी, नागरिक समाज तथा सञ्चार जगतबाट सङ्गठित रूपमा यो दिवस मनाइँदै आएको छ ।

photo20190907saptari (1)

photo20190907saptari (2)

photo20190907saptari (3)


अनलाइन डेस्क