मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक २८ गते

१७ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई वैदेशिक रोजगारीको लोभ देखाएर शारीरिक तथा मानसिक दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मादी गाउँपालिका खेलुङका २१ वर्षीय  जीवन नेपाली, काभ्रे तामाघाटका २६ वर्षीय आशिष भुजेल र पोखरा महानगरपालिका बगालेटोलकी ३० वर्षीया अन्जु गुरुङलाई गिरफ्तार  गरेको छ ।

पीडितहरूलाई आरोपितहरूले वैदेशिक रोजगारीमा पठाइदिने र सबै प्रक्रिया आफैँ मिलाइदिने भन्दै म्यादी जिल्लाबाट पोखरा ल्याएर जबरजस्ती याैन कार्यमा लगाउन खोजेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले आरोपित दुई जना जीवन नेपाली र आशिष भुजेललाई कात्तिक २५ गते र अन्जु गुरुङलाई कात्तिक २६ पोखरा लेकसाइडबाट गिरफ्तार गरी उनीहरूविरूद्ध कात्तिक २७ गते जिल्ला अदालत कास्कीमा मानव बेचबिखन तथा ओसारपोसार कसुर अन्तरत आठ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो  ।

पीडितहरूलाई पोखरा मनपा–६ लेकसाइडबाट उद्धार गरेर मनोपरामर्शपछि पोखरामा रहेको एक संरक्षण केन्द्रमा राखिएको छ ।


सुशन घिमिरे