मानव अधिकार समूहको मागदाबी पश्चात २२ ओटा विद्यालयमा सेनेटरी प्याड वितरण

  ०७६ माघ २७ गते

सरकारले सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधी पारित गरेको २ महिना पछि बागलुङको जैमिनी नगरपालिकाका छात्राहरुले सेनेटरी प्याड प्राप्त गरेका छन् ।

चालु आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरि सरकारले बजेट विनियोजन गरेपनि विद्यार्थीहरुले प्याड पाएका थिएनन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा बागलुङको जैमिनी नगरपालिकामा गठित मानवअधिकार समूहका सदस्यहरुले मङ्सिर १२ गते जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेल र उपप्रमुख लिला रानालाई संयुक्त रुपमा सेनेटरी प्याड वितरण गर्न मागपत्र बुझाएका थिए ।

इन्सेकद्वारा जैमिनी नगरपालिकाको शान्ति माध्यमिक विद्यालयमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष मेलिना चापागाईलाई माघ २६ गते नगरपालिकाका उपप्रमुख लिला रानाले सेनेटरी प्याड हस्तान्तरण गरेर प्याड वितरण कार्यक्रम सुरु भएको घोषण गर्नुभएको थियो ।

प्याड हस्तान्तरण गर्दै उपप्रमुख रानाले भन्नुभयो, ‘बालअधिकार चेतना समूहलाई प्याड हस्तान्तरण गरेर सुरु भएको यो कार्यक्रम आजैबाट नगरपालिकाका २२ विद्यालयमा लागुहुनेछ ।’

जैमिनी नगरपालिका सामुदायिक विद्यालयका १७ सय ८७ जना छात्रालाई मासिक १६ वटाको दरले प्याड वितरण हुने नगर शिक्षा अधिकारी खेम आचार्यले बताउनुभएको छ ।

महिनावारीको समयमा हरेक ६ घण्टामा प्याड परिर्वतन गर्नुपर्ने भन्दै दैनिक ४ ओटाका दरले प्रत्येक छात्रालाई महिनाको १६ ओटा वितरण गरिने उहाँको भनाइ छ ।

महिनावारीको समयमा छात्राहरुले विद्यालय छोड्ने समस्या समाधानको लागि सरकारले थालेको अभियान सफल बनाउन नगरका सबै विद्यालयमा महिला शिक्षिकालाई सम्पर्क व्यक्ति तोकिएको आचार्यले बताउनुभयो ।

सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरि १ अर्ब २७ करोड ७३ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

photo20200210baglung1

photo20200210baglung2

 

 


सिर्जना पन्त