मानव अधिकार संरक्षण तथा सम्बर्द्धन समन्वय र सहकार्य आवश्यकः महासचिव पौडेल

  ०७६ जेठ ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलले मानव अधिकार संरक्षण तथा सम्बर्द्धन कार्यमा सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

इन्सेक प्रदेश २ कार्यालयले जेठ २९ गते जनकपुरमा आयोजना गरेको प्रदेश २ को पछिल्लो मानव अधिकार अवस्था बारे आयोजित पत्रकारसँगको भेटघाट तथा छलफल कार्यक्रममा महासचिव पौडेलले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्राप्तिका लागि प्रयासरत रहनु पर्ने उल्लेख गरे ।

नागरिकको मानव अधिकार संरक्षण र सम्बर्द्धन कार्यमा पत्रकारको भूमिका महत्वपूर्ण रहने महासचिव पौडेलले बताए ।

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको फलोअप सहितको अभिलेखन कार्य संस्थाले गर्दै आएको र अभिलेखित घटनाका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरिएको इन्सेक प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले बताए ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले सन् २०१९ को जनवरी, फेब्रुअरी र मार्च गरी तीन महिनाको अवधिमा प्रदेश २ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तीन महिनाको अवधिमा प्रदेश २ मा १ सय ११ जना पीडित भएको घटना इन्सेकले अभिलेख गरेको पासवानले बताए ।

प्रस्तुत तथ्याङ्क अनुसार राज्य पक्षबाट दुई महिला सहित १५ जना पीडित भएका छन् भने अन्य पक्षबाट ७६ महिला सहित ९६ जना पीडित भएका छन् ।

छलफल कार्यक्रममा पत्रकारहरूले मानव अधिकारसँग सम्बन्धित घटना प्रतिवेदन समय समयमा सार्वजनिक गर्न आग्रह गरेका थिए ।

भेटघाटका क्रममा पत्रकारहरूले राखेका जिज्ञासाका बारेमा इन्सेक महासचिव रमेशचन्द्र पौडेल, व्यवस्थापक प्रमुख प्रेम पराजुली र प्रलेख तथा प्रसार कार्यक्रम प्रमुख मदन पौडेलले जबाफ दिएका थिए ।

photo20190613dhanusha (1) photo20190613dhanusha (2) photo20190613dhanusha (3) photo20190613dhanusha (4) photo20190613dhanusha (5) photo20190613dhanusha (6) photo20190613dhanusha (7)


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम