मानव अधिकार संरक्षकणको मुल दायित्व राज्यकैः सदस्य पाठक

  ०७५ चैत १५ गते

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले राज्य नै मानव अधिकारको संरक्षक भएकाले संविधान र कानुनले अधिकार दिएका काम गर्ने दायित्व पनि राज्यको हुने बताएका छन् ।

चैत १४ गते सिन्धुलीका सरकारी निकायका प्रमुख, नागरिक समाज, मानव अधिकारकर्मी तथा पत्रकारहरूसँग जिल्लाको मानव अधिकारको अवस्था बारेमा छलफल गर्ने क्रममा पाठकले यस्तो बताएका हुन् ।

उनले मान्छेलाई मानवीय हिसावले हेर्ने संस्कार सुरू भएको बताउँदै यसलाई प्रभावकारी बनाएर लान सबैलाई आग्रह गरेका छन् ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार कानुन बनाउने क्रममा रहेको बताउँदै सदस्य पाठकले मानव अधिकारसम्बन्धी रणनीतिक कार्ययोजनाको लक्ष्यलाई पछ््याएर कार्यक्रम गर्न आग्रह गरे ।

पाठकले जिल्लामा मानव अधिकारका क्षेत्रमा क्रियाशील सरोकारवालाहरू बसी योजना बनाएर काम गर्न आग्रह गरेका छन् ।

उनले जिल्लाको शान्ति सुरक्षाको अवस्था, स्वास्थ्यको अवस्था, कृषिमा पहुँचको अवस्था, महिला, बालबालिका तथा जेष्ठ नागरिकको अवस्था, विपद व्यवस्थापनको तयारी र अवस्था, सूचनाको हकको प्रयोग, न्यायमा पहुँचलगायतका विषयमा सरोकारवालासँग जानकारी लिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जिल्लाको समग्र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउँदै शान्ति सुरक्षा अमनचयनको अवस्था सामान्य रहेको, महिला तथा बालबालिकाको अवस्था नाजुक रहेको र सरकारी सेवा प्रवाहमा तारतम्यता मिल्न नसकेको बताए ।

कार्यक्रममा बोल्दै नागरिक समाजका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा कानुन व्यवसायीहरूले महिला र बालबालिकाको अधिकार सुरक्षित हुन नसकेको, न्यायमा पहुँच पुग्न समस्या भएको, आर्थिक सामाजिक तथा विकासमा समन्वय हुन नसकेको, नागरिकका खाद्य अधिकार, उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको बताए ।

स्थानीय सरकारले राज्यका निति, नियम र कानुनलाई फलोअप गर्दा समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको पनि बताए ।

यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पाठकको नेतृत्वको टोलीले प्रहरी हिरासत र सिन्धुली कारागारको अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा कारागारको अवस्था नाजुक रहेको पाइएको आयोगका सदस्य पाठकले बताए ।


विमला पाण्डे