मानव अधिकार राष्ट्रिय कार्ययोजना परामर्श गोष्ठी सम्पन्न

  ०७४ पुस १४ गते

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीद्वार आयोजना गरिएको मानव अधिकार राष्ट्रिय कार्ययोजना परामर्श गोष्ठी पुस १४ गते धनगढीमा सम्पन्न भएको छ ।

Photo20171229Kailali

परामर्श गोष्ठीमा मानव अधिकार आयोगका प्रतिनिधि यज्ञप्रसाद अधिकारीले मानव अधिकार राष्ट्रिय कार्ययोजनाले समेटेका विषयहरूको बारेमा जानकारी दिएका थिए । कार्ययोजनाको पृष्ठभूमी, कार्ययोजनाका मुख्य उद्धेश्यहरू, विशेषता, रणनीति, सेमटिएका विषयवस्तु, प्रमुख कार्यहरू र कार्ययोजनाको अनुगमन तथा मुल्याङ्कनको अवस्थाका बारेमा अधिकारीले जानकारी गराएका हुन् ।

राष्ट्रिय कार्ययोजनामा समेटिएका केही प्रमुख कार्यहरूमा शिक्षा, स्वास्थ्य, श्रमसम्बन्धी, कानुनी सुधार, कुरीतिजन्य हिंसाको अन्त्य, महिला अधिकारका सावाल, यौनिक अल्पसङ्ख्यकका अधिकार, अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, खाद्य सुरक्षा, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितका अधिकार, मानव अधिकार शिक्षा, समावेशी विकास, दलित अधिकार, पिछडिएको वर्ग र क्षेत्रका अधिकार, वादी समुदायको विकास र पुनर्स्थापना, बालबालिकाका अधिकार, आवास, सामाजिक सेवा र सुरक्षा, हिरासत तथा कारागार, संस्थागत सुदृढीकरणलगायतका विषयहरूको कार्यन्वयन अवस्था सन्तोषजनक नरहेको अधिकारीले बताए ।

Photo20171229Kailali1

कार्यक्रमका सहभागिहरूले मानव अधिकार राष्ट्रिय कार्ययोजनामा समावेश भएका बिषयहरू राज्यले तत्काल कार्यन्वयन गर्नु पर्ने कुरामा जोड दिएका थिए । साथै सहभागिहरूले कारागार सुधार, समावेशी सहभागिता, मानव अधिकार मैत्री संरचना निर्माणलगायतका विषयहरूलाई राजनीतिक दल र राज्यका निकायहरूले ध्यान नदिएको आरोप लगाउँदै तत्काल सम्बोधन गर्न सकिने विषयहरूलाई राज्यले सम्बोधन गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सहभागिबाट आएका जिज्ञासाहरूको बारेमा प्रस्ट्याउँदै कैलाली जिल्लामा मानव अधिकारका सावालहरूमा आफू सचेत रहँदै आएको बताए ।

Photo20171229Kailali2

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले गरैसरकारी संस्थाहरूको कार्य सरकारी कार्यालयहरूको टिकाटिप्पणी गर्ने नभएर उनीहरूलाई सुझाव दिने र सहयोग गर्ने रहेको बताउँदै मानव अधिकार राष्ट्रिय कार्ययोजनाका बारेमा राज्यले हालसम्म गरेका राम्रा पक्ष र आगामी दिनमा राज्यले गर्नु पर्ने कार्यहरूका बारेमा सुझाव दिनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको उल्लेख गरे ।

छलफलबाट आएका विषयवस्तुको प्रलेख गरी सम्बन्धित सरोकारवालाहरूको बिचमा ल्याउने प्रतिबद्धता जाहेर गर्दै गौतमले कार्ययोजना सफलताका लागि सरकारी तथा गैरसरकारी निकायहरूबाट संयुक्त पहल कदमी गर्न आवश्यक रहेको बताए ।


इन्सेक क्षेत्रीय कार्यालय, धनगढी