मानव अधिकार रक्षक सञ्जालको आग्रहमा अनसनकारीलाई सलाइन 

  ०७३ असोज ४ गते

जनकपुर-भिठ्ठामोड सडक निर्माणको माग गर्दै अनसनमा बसेका चार जनाको स्वास्थ्य अवस्था बिग्रँदै आएपछि मानव अधिकार रक्षक सञ्जालको आग्रहमा उनीहरूले सलाइनपानी लिएका छन् ।

तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत भदौ २८ गतेदेखि जनकपुर-भिठ्ठामोड राजमार्गको पिपरा गाविसको सडक खण्डमा आमरण अनसन बसेका उनीहरूलाई सञ्जालले असोज ३ गते लिखित तथा मौखिक आग्रह गरेपछि स्लाइनपानी लिएका हुन् ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्षसमेत रहेका नयाँ शक्ति पार्टीका नेता रामकुमार शर्मा, नेकपा माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका युवा नेता आरके रौशन र स्वतन्त्र मधेश गठवन्धनका रञ्जितराज मधेशी आमरण अनसनमा छन् ।

स्वास्थ्यकर्मीहरूको सल्लाह र सुझाव तथा सञ्जालले गरेको अनुगमनले उनीहरूको जीवन रक्षाको लागि सलाइनपानी आवश्यक रहेकोले मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका संयोजक एवम् इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहलगायतको टोलीले अनसनस्थलमै सलाइनपानी गराउन लिखित तथा मौखिक आग्रह गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका निमित प्रमुख भुवन नाथ र मानव अधिकार रक्षक सञ्जाल धनुषाका संयोजक राजकुमार महासेठलगायतको टोलीले असोज ३ गते नै पिपरा स्थित अनसन स्थलमा पुगेर अनसनकारीहरूको स्वास्थ्य अवस्था र माग बारे जानकारी लिएका थिए ।

सरकार र स्थानीय प्रशासन समेतले आफूहरूको स्वास्थ्य र माग बारे चासो नदिएको सडक सङ्घर्ष समितिका संयोजक रामकुमार शर्माले बताए ।

पहिलो चरणको आन्दोलन अन्तर्गत सडक सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी धनुषा र महोत्तरीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । दोश्रो चरणको आन्दोलनका क्रममा उनीहरूले जनचेतनामूलक कार्यक्रम गर्नुका साथै सडक अवरुद्धसमेत गरेका थिए ।


अजयकुमार साह