मानव अधिकार रक्षक लोकतन्त्रका पनि रक्षकः प्याकुरेल

  ०७३ मङ्सिर १५ गते

मानव अधिकार रक्षकहरू लोकतन्त्रका पनि रक्षक भएकाले लोकतन्त्रको रक्षाका लागि एकजुट हुन राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले आह्वान गरेका छन् ।

मानव अधिकार रक्षकहरूको पूर्वाञ्चलस्तरीय दोश्रो सम्मेलनको पहिलो दिन मङ्सिर १४ गते भेलामा सम्बोधन गर्दै प्याकुरेलले सो आह्वान गरेका हुन् ।

photo20161130morang

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार रक्षक परिषद्को आयोजना तथा एलाइन्स फर सोसल डायलगको सहकार्यमा आयोजित उक्त सम्मेलनमा सुशील प्याकुरेलले भने-'अहिलेको सन्दर्भमा नेताहरू जनताका नेता हुन नसकेर दलका नेतामा मात्र संकुचित हुन थाले ।' दलका चार/पाँच जना नेताहरू काठमाडौँको एउटा कुनामा बसेर गरेका निर्णयले नै सम्पूर्ण जनताको प्रतिनिधित्व गर्छ भन्ने सोच राख्नु विडम्वना भएको उनको भनाइ छ ।

लोकतन्त्रको सुदृढिकरण विना मानव अधिकारको प्रत्याभूति हुनै नसक्ने बताउँदै प्याकुरेलले भने-'लोकतान्त्रिक प्रणालीको सुनिश्चिता नै मानव अधिकार रक्षकहरूको मुख्य विषय हो । हामी मानव अधिकार रक्षक मात्र नभएर लोकतन्त्रको पनि रक्षक हौँ ।'

photo20161130morang1

मानव अधिकारको कुरा गर्ने तर जवाफदेहिता वहन गर्ने कुरा बिर्सने प्रवृत्ति हावी हुँदै आइरहेको बताउँदै राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य प्याकुरेलले मानव अधिकार रक्षकहरूमाथिको बढदो जोखिमका कारण यसेला मानव अधिकार आयोगको कार्य क्षमतामाथि प्रश्न उठ्नु अस्वाभाविक नभएको बताए । उनले मानव अधिकार र लोकतन्त्रको सुदृढीकरणका लागि स्थानीय तह देखिकै मानव अधिकार रक्षकहरूको नेतृत्व सवल हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सांसद अमृत अर्यालले संविधानसभाबाट संविधान प्राप्त हुनु नै महत्वपूर्ण उपलव्धी भएको बताउँदै मधेसका मागलगायत असन्तुष्ट पक्षहरूको भावनालाई समेत समेटेर संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको विचार राखे ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन घिमिरेले मानव अधिकारको सुनिश्चितता नभएसम्म राजनीति पनि सबल नहुने भएकाले मानव अधिकारलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । लेख्न र बोल्न प्रतिबन्ध भएको बेला मानव अधिकार रक्षककै भूमिका महत्पूर्ण हुने गरेकोले यसको मर्यादामा सरकार प्रतिवद्ध हुनुपर्ने उनले बताए ।

photo20161130morang2

माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश उप्रेतीले विगतको विषयलाई लिएर सधैँ एकैनासले तुलना गर्न नसकिने बताउँदै हिजो संविधान आयो, अब संविधान कार्यान्वयनको विषयमा सबैले क्रियाशील हुनुपर्ने बताए । उनले मानवअधिकार रक्षकहरूले समेत यस कुरालाई अगाडि लैजान शसक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको दोश्रो सत्रमा मानव अधिकार रक्षकको दायित्व, भूमिका, र चूनौतीका बारेमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । मङ्सिर १५ गते सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने परिषद्का संयोजक एवम् इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले जानकारी दिए ।


इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगर