मानव अधिकार रक्षकलाई खतरा भएको औँल्याउँदै सुरक्षाको माग

  ०७३ मङ्सिर १९ गते

मानव अधिकार रक्षकहरू मानव अधिकारका लागि कार्य गर्दा सरकारी र गैरसरकारी निकायबाट हुने डर धम्की लगायतबाट पीडित भएकोले सुरक्षाको माग गरिएको छ ।

मानव अधिकार रक्षक दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मङ्सिर १८ गते मानव अधिकार सञ्जाल धादिङ्को बैठकमा सहभागी अधिकारकर्मीहरूले मानव अधिकार रक्षकहरूमाथि सुरक्षामा खतरा रहेको औँल्याउँदै सुरक्षाको माग गरेका हुन् ।

मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनु पर्ने भन्दै मानव अधिकार रक्षक दिवसको दिन मङ्सिर २४ गते प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम तय भएको सञ्जालले जनाएको छ ।

यसैगरी मानव अधिकार दिवस मनाउन इन्सेकको संयोजनमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । जसका लागि मानव अधिकारका लागि जिल्लामा क्रियाशील फियान, सहयात्री समाज, दलित उत्थान तथा पैरवी मञ्च, अपाङ्ग महिला सङ्घ, आइसिडिसीलगायतका १६ ओटा सङ्घसंस्थाको आयोजनामा मानव अधिकार दिवस मनाउन लागिएको हो ।


सीताराम अधिकारी