मानव अधिकार निगरानी समूहको पहलमा घरेलु हिंसा पीडित महिला पुनःस्थापित

  ०७४ जेठ २८ गते

अन्तरजातीय विवाहका कारण घर निकाला गरिएकी गुर्भाकोट नपा-४ की १८ वर्षीया मनिषा बुढामगरको घटना सम्बन्धमा मानव अधिकार निगरानी समूहको पहलमा पीडित जेठ २७ गते घरमा पुनःस्थापित गराइएको छ ।

१८ वर्षीय पति नन्दबहादुर खड्काले जनजातिको छोरी भएको आरोपमा पीडितलाई ०७३ चैत २७ गते घरबाट निकालेका थिए । खड्का र बुढामगरबिच ०७३ चैत ७ गते प्रेम विवाह भएपछि खड्का परिवारले जनजातिको छोरी भनी मनिषाले छोएको खाना र पानीसमेत नखानुको साथै दुर्व्यवहार गर्दै उनलाई घरबाट निकालेको पीडित मगरले बताइन् ।

घरनिकाला गरेपछि इन्सेकद्वारा गठित गुर्भाकोट नपा-१ र २ (साविक मालारानी गाविस) स्तरीय मानव अधिकार निगरानी समूहको पहलमा जेठ १२ गते प्रहरी चौकी साहारेमा पति नन्दबहादुर र ससुरा केशरबहादुर खड्काविरुद्ध मनिषाले उजुरी दिएकी थिइन् । पत्नीले उजुरी दिएलगत्तै फरार रहेका पति नन्दबहादुर खड्का प्रहरी चौकीमा उपस्थित भएपछि जेठ २७ गते निगरानी समूहको रोहवरमा भएको छलफलमा खड्काले मनिषालाई पत्नी स्वीकार गरी घर लगेका हुन् ।

मनिषालाई घर निकाला गरेयता पीडतको पक्षमा सबै पक्षसँग समन्वय, उजुरी दिन, फरार रहेका नन्दबहादुरको खोजी गर्न, घरपरिवार र प्रहरीलाई पटकपटक ताकेता गर्नुको साथै प्रहरी चौकीमा भएको छलफलमासमेत आफू उपस्थित भई आरोपितलाई कानुन बमोजिम कारवाही गर्न दबाव दिएपछि खड्काले मनिषालाई पत्नी स्वीकार गरी घरमा पुनःस्थापना गरेको गुर्भाकोट नपा-१ र २ स्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष निर्देश वलीले बताए ।


दुर्गा थापा