मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा कर्णाली प्रदेशका ५ सय २ जना पीडित

  ०७५ फागुन ७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीकरण तथा कर्णाली प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम फागुन ७ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले राज्य, राजनीतिक दल र राज्य सञ्चालनमा बसेकाहरूलाई जनताप्रति उत्तरदायी बनाउनेतर्फ इन्सेकले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।
मानव अधिकार संरक्षण सम्वद्र्धनमा सबै पक्षलाई दायित्वबोध गराउन र वर्ष पुस्तकमार्फत मानव अधिकारको बारेमा इन्सेकले सचेतनाको अभियानलाई निरन्तरता दिएको सभामुख शाहीले उल्लेख गरे ।

सशस्त्र द्वन्द्व तथा त्यसपछिका दिनहरूमा पनि आन्दोलनरत र राज्य दुवै पक्षसँग विश्वासिलो भूमिका निर्वाह गर्दै पीडितलाई न्याय तथा पीडकलाई प्रायश्चित महसुस गराउन इन्सेकले अतुलनीय योगदान पु¥याएको सभामुख शाहीले चर्चा गरे ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले राज्यलाई सक्षम बनाउन सकेमा मात्र मानव अधिकारको संरक्षण हुने बताइन् ।

कर्णाली प्रदेशलाई शान्तिको प्रदेश बनाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै समाजमा लुकेका मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई न्युनीकरण गर्न इन्सेकले कानुनी सचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने सुझाव दिइन् ।

मन्त्री केसीले महिलाहरूलाई आत्मनिर्भर बनाउन सकेमा मात्र महिलामाथि हुने हिंसाका घटनामा कमी आउने उल्लेख गरिन् ।

यस्तै कर्णाली प्रदेश सरकारमा मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले संविधान र कानुनमा हक अधिकार व्यवस्था गरेर मात्र मानव अधिकारको संरक्षण नहुने हुँदा सबैले मानव अधिकारमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिए ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ माथि प्रकाश पार्दै कर्णाली प्रदेशको मानव अधिकारको अवस्था बारेमा चर्चा गरेका थिए ।

संयोजक सुवेदीले कर्णाली प्रदेशको मानव अधिकार अवस्था अन्तरगत इन्सेकले कर्णाली प्रदेशमा गरेको अभिलेख अनुसार मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ सय २ जना पीडित भएको बताए ।

त्यसमध्ये मानव अधिकार उल्लङ्घनका घटनामा पाँच जना महिला र ४४ जना पुरूष गरी ४९ जना तथा ज्यादतीका घटनामा ३ सय ४८ महिला र १ सय ५ जना पुरूष गरी ४ सय ५३ जना पीडित भएको उनले बताए । सन् २०१७ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कर्णाली प्रदेशमा ५ सय १६ जना पीडित भएका थिए ।

इन्सेकका साधारण सदस्य कृष्णमुरारीप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव दिपेन्द्र शर्मा, गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका महासचिव हरि अधिकारी र महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य पवित्रा शाहीलगायतले वर्ष पुस्तकको महत्वका बारेमा उल्लेख गरेका थिए ।

सो कार्यक्रममा सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीलाई ७ हजार रुपियाँ नगदसिहत मायाको चिनो र प्रशंसा पत्रले पुरस्कृत गरिएको छ ।

photo20190220surkhet (1)

photo20190220surkhet (2)

photo20190220surkhet (3)


दुर्गा थापा