मानव अधिकार आयोगको टोली प्रभावित गाउँमा

  ०७३ असोज ६ गते

सिङ्गो गाउँ झाडापखालाबाट प्रभावित भएपछि राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको टोलीले कोइलाडी गाविसको निरीक्षण गरेको छ ।

आयोगका मानव अधिकार अधिकृत रेवा रेग्मी, मानव अधिकार सहायक विभा ढुङ्गाना, नवल सिंह, इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलसहितको टोलीले प्रभावित गाउँमा पुगी झाडापखालाको अवस्थाबारे जानकारी लिएको हो ।

टोलीले कोइलाडी गाविस-१ मा सञ्चालित स्वास्थ्य शिविरमा सहभागी स्वास्थ्यकर्मी, बिरामी, स्थानीय बासिन्दा र गाविस सचिव रबेन्द्रप्रसाद मण्डलसँग भेटघाट गर्नुका साथै वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झा, जनस्वास्थ्य निरीक्षक राजनारायण ठाकुरसँग भेट गरी रोग नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय अपनाउन सुझाव दिएको छ ।

कोइलाडी गाविस-२ मा सुरु भएको झाडापखालाको रोग हाल कोइलाडी गाविस ४, ६, ७ र ९ मा पनि फैलिएको छ । कोइलाडी गाविस-२ मा सबैभन्दा बढी ५४ जनाले गाउँकै स्वास्थ्य शिविरमा, १६ जनाले राजविराजस्थित अञ्चल अस्पताल र एक जनाले विराटनगरमा उपचार गराएको कोइलाडी स्वास्थ्य चौकीका इञ्चार्ज सिनियर अहेव परशुराम यादवले जानकारी दिए ।

चारजना प्रभावित बिरामीको दिशा परीक्षण गर्दा दुई जनामा पोजिटिभ फेला परेकाले कोलेराको सम्भावना देखिएको भन्दै कल्चर गर्नका लागि दिशा र पानीको नमूना असोज ६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

झाडापखालाको प्रकोप फैलिएपछि असोज ५ गते विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. श्रीराम साह, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौँका जनस्वास्थ्य अधिकृत हरिनारायण साहसहितको माइक्रोबाइलोजिष्टको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो ।

खुला शौचालय गर्ने तथा वर्षा र बाढीको भल मिसिएको पोखरीको पानी प्रयोग गर्ने भएकाले समस्या बढ्दै गएको बताउँदै जनस्वास्थ्य निरीक्षक राजनारायण ठाकुरले पानीजन्य रोगको खतरा धेरै हुनाले उमालेर मात्र पानी पिउन, छोपेर राखेको एवम् ताजा भोजनको प्रयोग गर्न सल्लाह दिएका छन् ।

झाडापखाला फैलिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयबाट सलाइन पानी र आवश्यक औषधिसहितको स्वास्थ्य शिविर असोज ४ गतेदेखि गाउँमै सञ्चालित छ भने गाविस कार्यालयले असोज ६ गतेदेखि सचेतनामूलक माइकिङ्ग सुरु गरेको छ ।


मनोहरकुमार पोखरेल