मानव अधिकारको सम्मान र संरक्षण गर्न सबै पक्षलाई आयोगको आग्रह

  ०७४ असार ८ गते

राष्ट्रिय मानव अधिकार आयोगले असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मानव अधिकारको दृष्टिकोणबाट निर्वाचनको समग्र प्रक्रियाको अनुगमन गर्ने भएको छ ।

प्रदेश नं १, ५ र ७ का ३५ ओटा जिल्लामा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्नका लागि आयोगका अधिकृत सहितको टोली खटिएको आयोगले जनाएको हो ।

टोलीले, राजनीतिक दलहरूले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाएनपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएनभएको, मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार हनन्, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसङ्ख्यकलगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, 'स्थानीय तह निर्वाचन आचार संहिता, २०७३' मा उल्लेखित मानव अधिकारसम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायतका विषयमा अनुगमन गर्ने आयोगद्वारा असार ८ गते जारी विज्ञप्तिमा भनिएको छ ।


अनलाइन डेस्क