मानव अधिकारको रक्षा र विकासका लागि सहकार्यमा जोड

  ०७६ वैशाख १२ गते

ललितपुरमा आयोजित एक कार्यक्रममा मानव अधिकारको रक्षा र विकासका लागि सहकार्य हुनु पर्नेमा जोड दिइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र आइएसएचआरले ललितपुरमा वैशाख १२ र १३ गते संयुक्त रुपमा आयोजना गरेको मानव अधिकार रक्षकको वर्तमान अवस्था र चुनौति विषयक गोष्ठीको उद्घाटन समारोहका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा ०७६ वैशाख १२ गते ललितपुरमा आयोजित मानव अधिकार रक्षकका अधिकार र चुनौती विषयक दुई दिने गोष्ठिको उद्घाटन समारोहका वक्ताहरुले सो धारणा राखेका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मानव अधिकारको रक्षा र विकासका लागि कानुनी, व्यवहारिक, प्रशासनिक हिसावले कुनै बाधा आएमा सरकार सक्रियतापूर्वक सहयोगी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताए ।

उनले संवैधानिक आयोयको भूमिकालगायतका विषयमा तथ्यमा आधारित राय सहित महान्यायाधिवक्ताले खेल्नु पर्ने भूमिकाका बारेमा संविधानमा व्यवस्था भएको चर्चा गरे ।

मन्त्री ढकालले राजनीतिक अस्थिरताको समाप्तिपछि संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र राजनीतिक स्थिरताका लागि मुलुक अघि बढेको बताए ।

परिवर्तित राजनीतिक सन्दर्भमा नागरिकलाई जनअधिकार सम्पन्न बनाउन मौलिक हकसँग सम्बन्धित कानुनहरु मानव अधिकारमैत्री बनाइएको उल्लेख गर्दै पीडितले क्षतिपुर्ति पाउने कानुनी व्यवस्था गरेकोले नकरात्मक टिप्पणी गर्न नहुनेमा जोड दिए ।

नेपालको अवस्थाअनुसार राष्ट्रसंघको सदस्य राष्ट्र भएको हैसियतले मानव अधिकारको रक्षा र जन अधिकारको संरक्षण गर्नु सरकारको दायित्व भएको स्मरण गर्दै मन्त्री ढकालले मानव अधिकारको रक्षा गर्ने क्रममा घटनालाई हेर्ने दृष्टिकोण फरक भइरहेको प्रति ध्यानाकर्षण गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मिलिजुली सरकार र बहुमतको सरकारलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा चर्चा गर्दै संविधान र संघीयतामैत्री कानुन बनाउन २ सय ओटाभन्दा बढी कानुन परिमार्जन भएको जनाए ।

मानव अधिकार आयोग ऐन मानव अधिकार रक्षकहरुको आवाज र अभियानबाट आएको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले नेपालको संविधानको धारा २९३ ले अन्य आयोगलाई भन्दा स्वायत्त बनाएकोमा हालै सरकारले राष्ट्रिय मानव अधिकार आयोग ऐन संसोधन गर्ने क्रममा अधिकार खुम्च्याउन खोजेको आरोप लगाए ।
उनले आयोगले मानव अधिकारको संरक्षण, संबर्द्धन र प्रभावकारी कार्यान्वयन गर्ने विचार व्यक्त गरे । मानव अधिकार आयोगसम्बन्धी संशोधित ऐन पारित भएमा नेपालको मानव अधिकार आयोग महान्याधिवक्ताको अधिनमा रहँदा आयोग नै चुनौतीमा रहनेमा दुखेसो व्यक्त गरे ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)की अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मानव अधिकारको रक्षाका लागि काम गर्ने क्रममा मानव अधिकार रक्षकहरु चुनौतीका बिचमा काम गर्न बाध्य भएको बताइन् ।

अध्यक्ष श्रेष्ठले अधिकार रक्षकहरुलाई मानसिक तथा शारीरिकरुपमा हिंसाबाट पीडित हुनु परेका कारण मानव अधिकार रक्षकहरुको सुरक्षाको सुनिश्चितता हुने कानुन बनाउनुपर्नेमा जोड दिइन् ।

आइएसएचआरकी प्रतिनिधि टेसाले मानव अधिकार रक्षकहरुको अधिकार सुनिश्चितता बारे अन्तर्राष्ट्रिय अभ्यासको बारेमा अध्ययन र अनुभवका साथै कानुनी प्रावधान र वैधानिकरुपमा विशेष कानुन बनाएर अघि बढ्नु पर्ने खाँचो औँल्याइन् ।

संयुक्त राष्ट्र संघको सिड कमिटीकी उपाध्यक्ष बन्दना राणाले अन्तर्राष्टियरुपमा सहभागी हुने क्रममा विश्वको मानव अधिकार र मानव अधिकार रक्षकहरुको अधिकारका विषयमा अध्ययन गर्दा नेपालमा छोटो समयमा राम्रो उपलब्धि भइरहेकोप्रति खुशी व्यक्त गरिन् ।

उनले नेपालमा अझै पनि महिला अधिकार रक्षक र मानव अधिकार रक्षकहरुमा चुनौती रहेकोप्रति भने चिन्ता व्यक्त गरिन् ।

नेपालले अन्तर्राष्ट्रिय रुपमा गरेको प्रतिबद्धता र लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ मानव अधिकार रक्षकहरुले खेलेको अतुलनीय भूमिका प्रसंसनीय रहेकोमा जोड दिइन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकतन्त्रका मूलभूत तत्वहरुको प्रयोगमा न्यायपालिकामा सहयोग पु¥याउने उल्लेख गर्दै न्यायपालिकाले निर्भिक भएर निर्णय दिँदै आएको चर्चा गरे ।

उनले अदालतबाट छुटेका व्यक्तिहरुको रक्षाका लागि बन्दी प्रत्यक्षीकरणको आदेशबाट छुटिरहेकाहरुलाई पुनःगिरफ्तार गरिँदै आएका घटनाले विधिको शासनमा प्रश्न उठेको बताए ।

उनले लोकतन्त्रको रक्षा र विकासका लागि मानव अधिकार रक्षकहरुका चुनौतीलाई नेपाल बारएशोसिएसन र मानव अधिकार रक्षकहरुबीच सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

गोष्ठीमा सातै प्रदेशबाट आएका मानव अधिकार रक्षकको सहभागिता रहेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।

photo20190425lalitpur (1)

photo20190425lalitpur (2)

photo20190425lalitpur (3)

फोटोः बिमलचन्द्र शर्मा


दीपकप्रसाद घिमिरे