मानव अधिकारको अवस्था बुझ्न वर्ष पुस्तक हेरे पुग्छः सहभागी

  ०७६ वैशाख १० गते

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ९ गते बागलुङमा विभिन्न पक्षसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, नर्वेजियन एम्बेसीका राजनीतिक सल्लाहकार टोर्न लोभडाल (Tron Lovdal) सहितको टोलीले बागलुङ जिल्लाको मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रभावको बारेमा छलफल गरेको थियो ।

अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले स्थानीय तहमा नीति निर्माण गर्न र मानव अधिकारको अवस्थाबारे जानकारी पाउन सहयोग पुगेको बताएका थिए ।

उनीहरूले मानव अधिकार वर्ष पुस्तक हेर्दा समग्र देशको मानव अधिकारको अवस्था बुझ्न सकिने बताएका थिए ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरिषले बागलुङ जिल्लामा जातीय भेदभावका घटनाहरू धेरै भएपनि कानुनी प्रक्रियामा भने जान नसकेको बताएका छन् ।

उनले जातीय भेदभावका घटनाहरूको प्रकृति फेरिएको भन्दै सदरमुकाममा सानो जात भएको कारणले डेरा नपाउने र ग्रामीण भेगमा विहेमा जन्ति र मर्दा मलामी समेत नजाने अवस्था रहेको औँल्याए ।

इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकले पीडित र पीडकको मनोविज्ञानमा समेत प्रभाव पार्ने हुँदा पीडितलाई पीडा खोल्न र पीडकलाई आगामी दिनमा गलत काम गर्नबाट रोक्न मद्दत पुगेको बताए ।

उनले स–साना बालबालिका छोडेर आमा र बाबु विदेशिँदा बाल अधिकार हनन्का स्वरूपहरू फेरिन थालेको बताए ।

कार्यक्रममा नर्वेजियन एम्बेसीका राजनीतिक सल्लाहकार टोर्नले इन्सेक र वर्ष पुस्तकको लागि नर्वेजियन एम्बेसीबाट निरन्तर सहयोग प्रदान हुने प्रतिबद्धता व्यक्त गरे ।

टोलीले बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल र जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णहरी शर्मासँग पनि अन्तरक्रिया गरेको छ ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी खरेलले बागलुङ जिल्लाको मानव अधिकारको अवस्था र इन्सेकसँगको सहकार्यको बारेमा जानकारी गराएका थिए ।

उनले बागलुङ जिल्लाको शान्ति सुव्यवस्था र मानवअधिकारलाई चुस्त दुरूस्त राख्नको लागि जिल्लाका अधिकारकर्मी, राजनीतिकर्मी र सञ्चारकर्मीहरूले सधैँ सकरात्मक भुमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

एसपी शर्माले मानव अधिकारको सम्बद्र्धन प्रहरी सङ्गठनको प्राथमिकतामा पर्ने भन्दै मानव अधिकार उल्लङ्घन हुन नदिन आपूmहरू सधैँ सचेत रहेको बताए ।

प्रहरीलाई मजबुत बनाए मात्र राज्य मजबुत हुने भन्दै उनले सात ओटै प्रदेशमा तालिम केन्द्र र ल्याबको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

सो टोलीले बागलुङ नगरपालिकाको न्यायिक समितिसँग पनि छलफल गरेको छ । सो क्रममा न्यायिक समिति संयोजक सुरेन्द्र खड्काले न्यायिक समिति इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै इन्सेकले न्यायिक समितिका सदस्य र वडा स्तरीय मेलमिलापकर्तालाई तालिमको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रममा न्यायिक समितिकी सदस्य लक्ष्मी बास्कोटाले समितिमा जग्गा विवाद, खानेपानीको मुहान विवाद, घरेलु हिंसा, सम्बन्ध विच्छेद र खाना लगाउन नदिएका जस्ता उजुरी परेको जानकारी दिइन् ।

photo20190423baglung (1)

photo20190423baglung (2)


सिर्जना पन्त