मानव अधिकारकर्मीहरूको टोलीद्वारा क्वारेण्टाइन अनुगमन

  ०७७ साउन १५ गते

नेपाल सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको अन्त्यसँगै कोरोना सङ्क्रमितहरूको सङ्ख्या दैनिक बढि रहेको अवस्थामा स्थानियतहहरूले निर्माण गरेको क्वारेण्टाइन हटाइएको खबर पाएर धनुषामा सक्रिय रूपमा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका मानव अधिकारकर्मीहरू अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ का संयोजक राजु पासवान, इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, महिला पुर्नस्थापना केन्द्र (ओरेक) का धनुषा संयोजक रोजलिन सिंह बछार, तराइ मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलाइन्स) प्रदेश २ का संयोजक विनोद महरा र एड्भोकेसी फोरम नेपाल प्रदेश २ का कानुनी अधिकृत कुमारप्रसाद थपलियालगायतको संयुक्त टोलीले साउन १४ गते मिथिला विहारी नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाको क्वारेण्टाइनमा अनुगमन गरेका छन् ।

photo20200730dhanusha (1)

अनुगमनको क्रममा गणेशमान चारनाथ नगरपालिकाको श्री राष्ट्रिय माध्यमिक विद्यालय विरेन्द्र बजारमा रहेको क्वारेण्टाइन अनुगमन गरिएको छ ।

सो क्वारेन्टाइनमा एक जना कतारको दोहाबाट र तीन जना भारतको विभिन्न शहरबाट गाउँ फर्केकाहरू गरी जम्मा चार जना पुरुषहरू बसिरहेका छन् ।

क्वारेण्टाइनमा बिहान चिया, बिस्कुट, खाना, दिउँसो खाजा र राति खाना खुवाउँदै आएको क्वारेण्टाइनमा नौं दिनदेखि बस्दै आउनु भएका ३० वर्षीय युवाले बताउनु भयो ।

photo20200730dhanusha (2)

क्वारेण्टाइनमा बस्न र सुत्नको लागि तीन फिटको दुरी कायम गरि बेडहरूको व्यवस्थापन गरिएको छ ।

क्वारेण्टाइनमा बस्नेहरूले भने अहिलेसम्म शरिरको ताफक्रम चेकजाँच नगरेको र आफूहरूलाई सेनिटाइजर नदिएको गुनासो गर्नु भएको थियो ।

साबुन पानीको क्वारेण्टानइन भित्रै व्यवस्था गरिएको क्वारेण्टाइन इन्चार्ज रामएकवाल महतोले बताउनु भयो ।

photo20200730dhanusha (3)

क्वारेण्टाइनमा बस्नेहरूको लागि नियमित रूपमा स्वास्थ्य र सुरक्षा सामग्रीको व्यवस्था, खानपिनको व्यवस्था, सरसफाइलगायतको के कस्तो अवस्था छ भन्ने विषयमा नियमित रूपमा अनुगमन गर्दै आएको गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख मिना यादवले बताउनु भयो ।

अनुगमन टोली र गणेशमान नगरपालिकाका प्रमुख रामबावु यादव, कार्यकारी प्रमुख मित्रलाल काफ्ले, स्वास्थ्य संयोजक रामजी रायलगायतले निमार्णाधिन क्वारेण्टाइन स्थलको अनुगमन समेत गरेको छ ।

गणेशमान चारनाथ नगरपालिकाले ७० लाखको लागतमा छुट्टै क्वारेण्टाइन भवनको निमार्ण गरेको छ ।

photo20200730dhanusha (4)

अनुगमनको क्रममा मिथिला विहारी नगरपालिकामा हाल क्वारेण्टाइनमा बस्नेहरूको सङ्ख्या शून्य रहेको, मिथिला विहारी नगरपालिकाले परसुराम तलाउ माध्यमिक विद्यालय र मिथिला विहारी आधारभुत विद्यालयमा क्वारेण्टाइन राखेको स्वास्थ्य संयोजक बिगुल यादवले बताउनु भयो ।

हाल क्वारेण्टाइनमा बस्नेहरू नरहेकाले क्वारेण्टाइनलाई सेनिटाइज गरि राखिएको संयोजक बिगुल यादवले बताउनु भयो ।

अहिलेसम्म मिथिला विहारी नगरपालिकामा रहेको परसुराम तलाउमा १० जना महिलासहित २ सय ९ जनालाई क्वारेण्टाइनमा राखिएको संयोजक बिगुल यादवले बताउनु भयो ।

क्वारेन्टाइनमा १ सय ३४ जनाको पीसीआर विधिबाट स्वाब सङ्कलन गरिएको छ, जसमध्ये १५ जनामा कोरोना सङ्क्रमण फेला परेको थियो ।

ती सबै सङ्क्रमितहरू निको भएर घर फर्किसकेकोसंयोजक बिगुल यादवले बताउनुभयो ।

अनुगमन पश्चात्त इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले लकडाउन खुकुलो भएसँगै कोरोना सङ्क्रमित बिरामीहरूको सङ्ख्यामा बृद्धि भएको, क्वारेण्टाइनमा बस्नेहरू नरहेकाले क्वारेण्टाइन हटाइएको र भएको क्वारेन्टाइनमा समेत आधारभुत सेवा सुविधा नभएका खबर पाएपछि  क्वारेण्टाइन अनुगमन गरेको बताउनु भयो ।

संयोजक पासवानले क्वारेण्टाइन अनुगमन गर्दा मिथिला विहारी नगरपालिकामा हाल शुन्य सङ्ख्या रहेको अवस्था रहेकाले पछिल्लो तथ्याङ्क लिएको, आगामी दिनका तयारी तथा चुनौतीका विषयमा नगरका स्वास्थ्य संयोजक बिगुल यादवसँग छलफल गरेको बताउनु भयो ।

त्यसै गरी, संयोजक पासवानका अनुसार गणेशमान चारनाथ नगरपालिकामा चार जना क्वारेण्टाइनमा रहेको र क्वारेण्टाइन स्थल अनुगमनमा सन्तोषजनक वातावरण रहेको पाएको बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह