माध्यमिक विद्यालयमा शिक्षकको कमी हुँदा पठनपाठनमा समस्या

  ०७६ जेठ ७ गते

नाम्खा गाउँपालिका–५ स्थित याल्बाङ्गमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा शिक्षकको कमी हुँदा पठनपाठनमा समस्या भएको छ ।

महाबौद्ध माध्यमिक विद्यालयको माध्यमिक तहमा एक जनाको मात्रै दरबन्दी रहेकाले यस्तो समस्या भएको हो ।

विद्यालयमा माध्यमिक तहका लागि कम्तीमा पनि चारजना शिक्षकको दरबन्दी हुनुपर्नेमा दरबन्दी कम भएको शिक्षक लक्ष्मण थापाले बताए ।

गत वर्षदेखि कक्षा ११ र १२ को कोटा स्थापना राखिएको भएपनि, शिक्षक नहुँदा माध्यमिक तहका कुनै पनि विषयको पठनपाठन हुन नसक्दा आफूहरू मर्कामा परेको कक्षा ११ मा अध्ययनरत पेमा डोल्कार लामाले गुनासो गरिन् ।

विद्यालयमा दरबन्दी छुट्याउनुपर्ने गाउँपालिकास्थित शिक्षा समन्वय समितिले भएपनि पहल नथाल्दा समस्या भएको हो ।

कक्षा एक देखि १२ सम्ममा पठनपाठन हुने महाबौद्ध विद्यालयमा ३ सय ५० जना छात्रछात्रा अध्ययनरत रहेका छन् ।

महाबौद्ध याल्बाङ्गमा माध्यमिक तहको शिक्षक नहुँदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बारेमा प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले शिक्षा एकाइसँग सहकार्य गरेर विद्यालयमा शिक्षक दरबन्दीको लागि पहल गर्ने जानकारी दिए ।

सोही विद्यालयमा एक जना माध्यमिक तहको शिक्षकको दरबन्दी खाली रहेता पनि एक वर्षदेखि शिक्षकको पदपुर्ति नहुँदा निम्न माध्यामिक विद्यालयका शिक्षक पठनपाठन गरिरहेका छन् ।

माथिल्लो तहका विद्यार्थीलाई पठनपाठन गराउँदा गुणस्तरीय शिक्षा प्रदान नहुने विद्यार्थी योङ्जोर लामाले गुनासो गरे ।

प्रमुख जिल्ला अधिकारी ढकालले विद्यालयमा शिक्षकसँगै खानेपानी तथा पर्याप्त कक्षाकोठाको समेत अभाव रहेको बुझिएकोले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

शिक्षा समितिमा कर्मचारी समायोजन भई गाउँपालिकामा नगएको हुनाले अनुमति प्राप्त भएपनि सो विद्यालयमा शिक्षक पदपुर्तिमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।


नन्द सिंह