मातृभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्न स्थानीय सरकार समक्ष माग

  ०७७ जेठ १८ गते

लिम्बू मातृभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्नका लागि लिम्बू जातिसँग सम्बन्धित सङ्घ–संस्थाले स्थानीय सरकार समक्ष माग गरेका छन् ।

माध्यमिक तहसम्मको पाठ्यक्रम र  कक्षा नौ को पाठ्यपुस्तक निर्माण गर्नका लागि किरात याक्थुङ चुम्लुङ, याक्थुङ प्रज्ञा प्रतिष्ठान र लिम्बू भाषा विकास संस्थाले जेठ १६ गते फिदिम नगरपालिकामा माग पेश गरेका छन् ।

“कक्षा ९–१२ को लागि तत्काल पाठ्यक्रम निर्माण गरी सो बमोजिम चालु शैक्षिक सत्रको लागि कक्षा ९ को पाठ्यपुस्तक निर्माण गर्न सहयोग गरिदिन हुन आग्रह गर्दछौं”– ज्ञापन पत्रमा भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा नियमन गर्ने निकाय स्थानीय सरकार नै भएकाले नगरपालिकामा माग पेश गरिएको याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगुले बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले मागका सम्बन्धमा सहयोग गर्ने बताउनुभयो । माग गरिएको विषय नगर कार्यपालिकाको बैठकमा पेश गरिने र सो बैठकले पारित गरेमा कार्यान्वयनमा लैजाने उहाँले जानकारी दिनुभयो ।

नेपालको संविधान २०७२ को भाग–३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३१ मा शिक्षा सम्बन्धी हकको हकको व्यवस्था छ । सोही धाराको उपधारा (५) मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ’  भनि उल्लेख गरिएको छ । यसै गरी अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ ले समेत माध्यमिक तहसम्म मातृभाषामा शिक्षा हासिल गर्न पाउने कानुनी व्यवस्था गरेको  छ ।

मातृभाषा पठनपाठन सम्बन्धमा कानुनी व्यवस्था भए पनि व्यवस्थापकीय कमजोरीका कारण हाल जिल्लामा मातृभाषा पठनपाठन घट्दो अवस्थामा छ । यसअघि दुइ सय भन्दा बढी विद्यालयमा पठनपाठन हुने लिम्बू मातृभाषाको ‘आनीपान’ अहिले १ सय १२ ओटा विद्यालयमा पढाई हुन पुगेको किरात याक्थुङ चुम्लुङका सचिव सुरेन केरुङले बताउनुभयो ।

कक्षा पाँचसम्म ऐच्छिक विषयको रूपमा पठनपाठन हुने यो विषय विद्यार्थीले आफै खरिद गर्नुपर्ने, भाषा शिक्षकको दरबन्दी  नहुनुका साथै योग्यता वा सम्पर्क भाषाको रूपमा आधिकारिकता नदिइएकोले मातृभाषा पठनपाठन गर्ने क्रम घटेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् फिदिम माविका शिक्षक हरिचन्द्र लावतीले बताउनुभयो । भाषाको संरक्षणको जिम्मा राज्यले नलिने हो भने लोप हुने अवस्थामा पुग्ने उहाँले बताउनुभयो ।

Photo 20200531 Pachathar

 


मङ्गल बेघा