महोत्तरी जिल्ला अस्पतालमा औषधि अभाव

  ०७३ पुस ११ गते

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा औषधिको अभाव भएको छ । जिल्ला अस्पतालमा पारा सिटामोल, एमोक्सिसिलिन, एन्टासिड, एम्लोडिपिन, कोट्रीमोक्साजोल र मेट्रोन ज्वरो, एन्टीवायोटिक, उच्च रक्तचाप र झाडापखालालगायतका अत्यावश्यक औषधिहरूको अभाव भएको हो ।

जिल्ला सदरमुकाम जलेश्वरमा रहेको जिल्ला अस्पताल र जिल्ला कै विभिन्न गाविस र नगरपालिकामा रहेको स्वास्थ्य चौकीहरूमासमेत औषधि अभाव हुँदा बिरामीहरू निजी मेडिकलहरूबाट महङ्गोमा औषधि किन्न बाध्य छन् ।

औषधि अभावबारे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.मनिष पाण्डेय भन्छन्-'वर्षको ४८ लाख रुपियाँ मात्र जिल्लाभरी कै औषधि खरिद गर्न आउँछ र महोत्तरीको कुल जनसङ्ख्या ६ लाख भन्दा माथि रहेकोमा एक जना बिरामीको औषधि वापत ८ रुपियाँ समेत नपर्ने हुनाले बेलाबेला औषधि अभाव हुने गरेको छ ।'

हाल औषधि खरिदको लागि टेण्डर आह्वान गरिसकेकोले केही दिन भित्रै जिल्ला अस्पताल र विभिन्न स्वास्थ्य चौकीहरूमा औषधि पुगिसक्ने डा. पाण्डेयको भनाइ छ ।

अस्पतालमा वर्षौँदेखि कालाजार विशेषज्ञ भई बिरामीको उपचार गर्दै आएका डा.द्वारिका साह र उनका डाक्टरहरूको टोली अहिलेको उत्कृष्ट टोली भएपनि औषधि अभाव र आवश्यक साधन स्रोतको अभावमा दिन सक्ने सेवा सुविधा पुर्ण रूपले दिन कठिनाइ भइरहेको बताएका छन् ।

जलेश्वर-५ का ८३ वर्षीय वृद्ध मुक्तिनाथ मल्लिक जलेश्वर अस्पतालको औषधि बाँड्ने ठाउँमा उच्च रक्तचापको औषधि लिन जाँदा औषधि नभएको भन्दै अस्पतालले फर्काइ दिएको बताएका छन् । आर्थिक रूपमा विपन्न रहेका उनी विगत केही महिनादेखि पसलबाटै औषधि किन्नु परिरहेको बताए ।

विगतदेखि नै जिल्ला अस्पतालको सरसफाइमा हेलचेक्र्याई, आवश्यक उपचार गर्ने औजार र उपकरण विना निर्मलीकरणको प्रयोग तथा अभाव, अस्पतालमै हुने जाँचहरू केही पैसाको लोभमा बाहिरबाट गर्न लगाउने, औषधि अभावले उपचार गराउन आएका बिरामीहरूले औषधि नपाएर थप सास्ती भोग्न बाध्य छन् ।


अजयकुमार साह