महोत्तरी जिल्ला अस्पतालमा औषधि अभाव

  ०७३ भदौ ३१गते

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अत्यावश्यक औषधिको अभाव भएको छ ।  सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोफलोक्सासिनलगायतका ज्वरो तथा झाडापखाला नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि तथा एन्टीबायोटिकजस्ता औषधिको अभाव भएको अस्पतालका प्रमुख डा. राजिव झाले बताए ।

अस्पतालको तथ्याङ्क अनुसार दैनिक १ सय ५० देखि १ सय ७० जना बिरामी सेवा लिन आउने गरेका छन् । पहिलो चौमासिकमा आउनु पर्ने औषधि नआएकोले अभाव भएको डा. झाले बताए ।

झाडापखालाका कारण उपचार गराउन आएकी रतौली–३ की मनिषा ठाकुरले मेट्रोन डीएफको पुर्जा देखाउँदै भनिन्– ‘निःशुल्क पाउनु पर्ने औषधिसमेत पसलबाट किन्नु भनेको छ ।’

जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेयले अत्यावश्यक औषधि नपुग रहेकाले औषधिको व्यवस्थापनमा आफू लागेको र सक्दो चाँडो पूर्ति गरिसक्ने बताए ।

सरकारले जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि उपलब्ध गराउने भनेपनि सो हुन सकेको छैन ।


अजयकुमार साह