महोत्तरीमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार

  ०७६ मङ्सिर ७ गते

पिपरा गाउँपालिका प्रवेश गर्ने बित्तिकै अर्कै माहोल देख्न सकिन्छ । केही दिनअघिसम्म अन्य ठाउँजस्तै देखिने यो गाउँपालिका अहिले रङ्गिन बनेको छ । जताततै पोष्टर, पम्पलेट, तुल, व्यानर झुण्ड्याइएका कारण पिपरा गाउँपालिका रङ्गिन बनेको हो ।

यो गाउँपालिकामा यही मङ्सिर १४ गते अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारहरूले आफ्नो प्रचार–प्रसार गर्न रङ्गिचङ्गी पर्चा, पम्पलेटको प्रयोग गरी निर्वाचन आचारसंहिता विपरीत प्रचार गरेका हुन् ।

व्यक्तिको घरदेखि, चोक चौराहा, पोल र सार्वजनिक स्थानहरूमा समेत उम्मेदवारहरूले प्रचार सामग्री टाँगेका छन् ।

कतिपय ठाउँमा तुल र ब्यानर बाँसमा गाडेर सजाइएको छ । एकै ठाउँमा विभिन्न पार्टीबाट उम्मेदवारी दिएकाहरूले आ–आफ्नो तुल र व्यानर झुण्ड्याएका छन् भने पर्चा, पम्पलेटले पिपरा बजार रङ्गिन बनेको छ । पिपरा बजारको हरेक पसल, रूखहरुमा प्रचार सामग्री टाँसिएको छ ।

पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेताहरूले चार चक्के गाडीको अत्यधिक प्रयोग गरिरहेका छन् ।

एक जना उम्मेदवारले ४ देखि ६ ओटासम्म गाडीको प्रयोग गरिरहेको स्थानीयहरूले बताएका छन् । प्रचार–प्रसारका लागि हिँड्दा होस् या घरदैलो गर्न जाँदा उम्मेदवारहरू चार चक्के गाडी नै प्रयोग गरिरहेका छन् ।

अधिकांश उम्मेदवारले भारतबाट चार चक्के गाडी भाडामा मगाएका छन् । पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विक्रम चौधरी, नेपाली कांग्रेसबाट विजयकुमार यादव, समाजवादीबाट रामजानकी यादव, राष्ट्रिय जनता पार्टी (राजपा) बाट रबिता चौधरीलगायत चुनावी मैदानमा हुनुहुन्छ ।

निर्वाचन आचारसंहितामा कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचार–प्रसार गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको नाम वा निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, टि–सर्ट, टोपी, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने भनिएको छ ।

त्यसैगरी निर्वाचनसम्बन्धी प्रचार–प्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने आचारसंहितामा छ ।

त्यस्तै निजी घरजग्गामा त्यस्तो घर जग्गाधनीको स्वीकृति नलिई राजनीतिक गतिविधि वा प्रचार प्रसार गर्न वा गराउन आचारसंहितामा बन्देज लगाइएको छ ।

photo20191123mahottari


अजयकुमार साह