महोत्तरीमा उपनिर्वाचन तयारी, मतदान हुने स्थलहरूलाई संवेदनशील र अति संवेदनशील गरी दुई भागमा छुट्याइए

  ०७६ कात्तिक २२ गते

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष तथा तीन वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । पिपरा गाउँपालिकामा गाउँपालिकाको अध्यक्ष र मटिहानी नपा–६ तथा बल्वा नपा–२ र ८ मा वडा अध्यक्षका लागि निर्वाचन हुने भएको छ ।

यहि मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि जिल्लामा प्रकृयाहरू सुरू गरिएको छ । कात्तिक २७ गते मनोनयन दर्ता र मङ्सिर १ गते निर्वाचन चिन्ह प्रदान गरिने लगायतका कार्यक्रम तालिका निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयकी प्रमुख पुष्पाकुमारी झाका अनुसार उपनिर्वाचनका लागि तीन ओटै स्थानीय तहमा गरी १९ मतदान स्थल र २९ मतदान केन्द्र निर्धारण गरिएको छ । उपनिर्वाचनमा २२ हजार ९ सय २० मतदाताले मतदान गर्ने छन् ।

निर्वाचन भयरहित हुन्छः प्रजिअ खत्री
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले उपनिर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

उनले थोरै स्थानमा मतदान हुने भएपनि मतदान हुने स्थलहरूलाई संवेदनशील र अति संवेदनशील गरी दुई भागमा छुट्याइएको बताउँदै सुरक्षाको तर्फबाट कुनै कसर बाँकी नरहने बताए ।

उनले तत्कालै सुरक्षाकर्मीको सङ्ख्या निर्धारण भएर नआएको बताउँदै निर्वाचन सुरक्षा योजना अनुसार गत निर्वाचन जस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा हुने बताए ।

मटिहानीको तथ्याङ्क
मटिहानी नपा–६ का वडा अध्यक्ष सञ्जयकुमार मण्डलले राजिनामा दिएपछि त्यहाँ उपनिर्वाचन हुने भएको हो ।

गत निर्वाचनमा १ हजार २ मतदाता रहेकोमा हाल उक्त वडामा मतदाताको सङ्ख्या १ हजार ६९ पुगेको छ । यहाँ एक मतदान स्थलमा दुई केन्द्र राखिएको छ ।

बल्वाको तथ्याङ्क
बल्वा नगरपालिकाका दुई वडामा उपनिर्वाचन हुँदैछ । बल्वा नपा–२ र ८ का वडा अध्यक्ष क्रमशः राजकुमार साह र लोकिन्दर महतो कोइरीको हृदयाघातबाट मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुने भएको छ ।

वडा नं. २ मा गत निर्वाचनमा १ हजार ४ सय ६९ मतदाता रहेकोमा उपनिर्वाचनमा मतदाता सङ्ख्या १ हजार ५ सय ५४ पुगेको छ । वडा नं. २ मा एक मदतान स्थलमा दुई केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै वडा नं. ८ मा गत निर्वाचनमा १ हजार ५ सय २५ मतदाता रहेकोमा हाल बढेर मतदाता सङ्ख्या १ हजार ५ सय ८३ पुगेको हो । यहाँ दुई मतदान स्थलमा दुई मतदान केन्द्र नै राखिएको छ ।

पिपराको तथ्याङ्क
पिपरा गाउँपालिका अध्यक्ष विनोदकुमार चौधरीको निधन भएपछि पिपरामा उपनिर्वाचन हुँदैछ । उनी निर्वाचित भएकै समयदेखि बिरामी परेर समयसमयमा उपचारमा रहनु परेकोमा सोही क्रममा उनको मृत्यु भएको हो ।

पिपरा गाउँपालिकामा तत्कालिन स्थानीय तहको निर्वाचनको समय १७ हजार ९ सय २५ मतदाता रहेकोमा वर्तमान निर्वाचनमा मतदाता सङ्ख्या १८ हजार ५ सय ४ पुगेको छ । पिपरामा १५ मतदान स्थलमा २४ मतदान केन्द्र तोकिएको छ ।


अजयकुमार साह