महोत्तरीका २ सय ३२ मतदानस्थल संवेदनशील

  ०७४ भदौ २२ गते 

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २ सय ५८ मध्ये २ सय ३२ मतदानस्थल संवेदनशील रहेका जिल्लास्थित सुरक्षा निकायले जनाएका छन् ।

त्यसमध्ये पनि १ सय ३५ ओटा मतदानस्थल अति संवेदनशील र ९७ ओटा मतदानस्थल संवेदनशील रहेका छन् । महोत्तरी जिल्लाका २६ ओटा मतदानस्थल मात्रै सामान्य रहेका जनाइएको छ ।

जिल्लाको करिब ७० प्रतिशत भूभाग पश्चिम र दक्षिणको भारतीय सीमासँग जोडिएको र बढीभन्दा बढी मतदान स्थल सोही सीमा नाकासँग जोडिएको हुनाले २ सय ३२ ओटा मतदानस्थल संवेदनशील रहेको बताइएको छ ।

भारतीय सीमासँग महोत्तरीका विभिन्न १३ ओटा स्थानबाट नेपाल-भारत आउजाउ हुने गरेको छ भने वनको बाटो करिब ४० किलोमिटरसम्म खुल्ला नै रहेकाले यस जिल्लाका अधिकाँश मतदानस्थल संवेदनशील रहेका जनाइएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुबेर कडायतले जिल्लाका हरेक मतदानस्थलमा सुरक्षाको भरपुर व्यवस्था गरेको र सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।

यसअघिका मतदानमा म्यादी प्रहरीलाई खटाइए तापनि यसपटकको निर्वाचनमा नेपाल प्रहरीका २ हजार ६ सय प्रहरी जिल्लाभर थप गरिएको एसपी कडायतले जनाए । भारतीय सीमासँग जोडिएका ठाउँमा रहेका मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधि र उच्छृङ्खल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको एसपी कडायतले बताए ।

सुरक्षाको दृष्टिकोणले अति संवेदनशील रहेका मतदान केन्द्रमा सामान्यभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने चुनाव अगावै मोबाइल टोली परिचालन गर्नाका साथै रात्री गस्ती समेत बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सौहार्दपूर्ण वातावरण बनाइ राख्न प्रयास जारी रहेको बताउँदै चुनाव गराउन आउने बाधा अवरोध वार्ताको माध्यमले हल गर्न आफूहरू लागिपरेको बताए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चुनावको लागि सुरक्षाका सम्पूर्ण तयारी भइसकेको बताए ।

जिल्ला निर्वाचन कार्यालय महोत्तरी प्रमुख पिङ्की रायले महोत्तरीमा २ सय ५८ मतदानस्थल र ५ सय १५ मतदान केन्द्र तोकिएको बताइन् । महोत्तरीमा चुनावमा भाग लिन निर्वाचन कार्यालयमा २९ दल दर्ता भएको छ । महोत्तरीमा कूल जनसङ्ख्या ६ लाख २७ हजार ५ सय ८० रहेको मा ३ लाख १३ हजार ३ सय ५७ मतदाता रहेको छ ।


अजयकुमार साह