महिला हिंसाविरुद्ध प्रदेश २ मा सुरक्षित बेटी अभियान

  ०७६ माघ २० गते

महिला हिंसाविरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघ २० गतेदेखि सुरक्षित बेटी अभियान सुरू गरेको छ ।

photo20200203dhanusha (2)

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको अध्यक्षता तथा प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बिच सुरक्षित बेटी अभियान सुरू गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको योजना महाशाखा प्रमुख टिकामणि न्यौपानेले जानकारी दिनु भए अनुसार सुरक्षित बेटी अभियानले महिला हिंसाविरुद्ध हुने सबै प्रकारको हिंसा, शोषण, विभेद र दुर्व्यवहारविरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन गर्नेछ । उहाँका अनुसार यस अभियानले व्यक्तिगत विकास, सशक्तिकरण र प्रगतिको मुख्य बाधक रहेको महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न, मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्न, लैङ्गिक विभेदरहित मर्यादित, न्यायपूर्ण, सुरक्षित, समतामुलक सभ्य समाजको स्थापनाका लागि पहल गर्ने छ ।

photo20200203dhanusha (3)

सुरक्षित बेटी अभियानको क्रममा प्रदेशस्तरमा एक संयोजक र जिल्लाहरुमा सामाजिक परिचालक खटाएर महिला हिंसाविरुद्धको घटना न्युनिकरणका लागि सहजिकरण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

सुरक्षित बेटी अभियानको आरम्भ गर्दै मुख्यमन्त्री लालबावु राउतले समाजको सङ्कुचित सोच र बनोट बदल्न जरुरी रहेको बताउनु भएको छ । हामीले घरमा छोरी जन्मिँदै घरको बोझ ठान्दै दुःखी हुने गरेकाले यस्ता संस्कारलाई त्याग्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । समाजमा व्याप्त यस्ता कुरीतिलाई आफ्नै घरबाट त्याग्नु पर्ने वहाँले बताउनु भएको छ ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले आर्थिक वर्ष २०७६/०७७ लाई लैङ्गिक हिंसाविरुद्धको अभियानको रुपमा राखिएकोले गर्दा पनि प्रदेश २ सरकारले सुरक्षित बेटी अभियानको थालनी गरेको बताउनु भएको छ ।

photo20200203dhanusha (1)

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले प्रदेश २ सरकारलाई अब महिला हिंसा सहनीय नहुने बताउनु भएको छ । हाम्रो समाजमा अहिले महिला गर्भाधारण भएपछि भ्रुण पहिचान गरेर गर्भपतन गराउँने गरिएको बताउनु भएको छ ।

समाजमा महिलाहरुमाथि निकै विभेद हुँदै आएकाले गर्दा अब देशकै ५० प्रतिशत भन्दा धेरै जनसङ्ख्याग ओगटेको महिलाहरुको सम्मान स्वरुप प्रदेश २ सरकारले गर्ने पदपूर्तिमा ५० प्रतिशत महिलाको सिट आरक्षण गरिएको कानूनमन्त्री यादवले बताउनु भएको छ । विभेदरहित समतामुलक समाज निमार्णका लागि सुरक्षित बेटी अभियानको आरम्भ गरिएको वहाँले जानकारी दिनु भएको छ ।


दिपेन्द्रप्रसाद सिंह