महिला वडा सदस्य उम्मेदवार पतिबाट कुटिइन्

  ०७४ वैशाख २८ गते

रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री 'गुरुङ'लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् ।

वैशाख २७ गते बेलुकी पति पत्नीबिचको विवादमा उम्मेदवारी फिर्ता लिन पतिले दबाव दिएको भएपनि आफूले नमान्दा पतिले कुटपिट गरेको पीडित महिलाको आरोप छ ।

कुटपिटबाट पीडित महिलाको टाउको र हातमा गम्भीर चोट लागेकोले उपचार पोखरास्थित फेवासिटी अस्पतालमा भइरहेको छ ।

पति र पत्नीबिच राजनीतिक पृष्ठभूमि नमिलेको कारण पद्मामाथि कुटपिट भएको स्थानीयबासीको भनाइ छ । सो घटना राजनीतिक नभइ घरायसी कारणबाट भएको वडा प्रहरी कार्यलय सिसुवाका इन्स्पेक्टर दुर्गाबहादुर गुरुङले बताए ।


सङ्गीता भाट