महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको संरक्षणमा जोड

  ०७७ असोज ९ गते

अन्य समयमा भन्दा कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न परिस्थितिपछि महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू झनै पीडित भएका भन्दै एक कार्यक्रमका सहभागीले उनीहरूको विशेष संरक्षणमा जोड दिएका छन् ।

४१ औँ सामाजिक सेवा दिवसको सन्दर्भ पारेर असोज ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको ‘कोभिड–१९ः मानव अधिकारको सवाल र सरोकार’ विषयक भर्चुअल अन्तरक्रियाका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले नागरिकको अधिकार रक्षाका लागि सरकारको जबाफदेहिता बढाउन आवश्यकता रहेको भन्दै सोका लागि नागरिक सङ्गठनको एकीकृत प्रयास हुनु पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो–‘नागरिक सङ्गठनको एकीकृत प्रयास हुनसक्दा मात्रै आम नागरिकको मानव अधिकार रक्षा गर्न सकिन्छ ।’

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोकथाम र न्यूनीकरणका लागि लगाइएको लकडाउनले नागरिकका आधारभूत अधिकार सङ्कुचन हुन पुगेको बताउनु भयो ।

‘यो अवधिमा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको अभिलेखीकरण गरिएको छ । सम्बन्धित सरोकारवालासँग छलफल गर्ने र सरकारलाई आवश्यक दबाब दिने काममा इन्सेक निरन्तर लागिरहेको छ ।’–उहाँले भन्नु भयो ।

कोभिड–१९ ले बाल अधिकारमा पारेको असरका विषयमा सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले अरूबेलाको तुलनामा कोरोना सङ्क्रमणपछि उत्पन्न परिस्थितिका बेला बालबालिका मानसिक तथा सामाजिक रूपमा बढी पीडित भएको बताउनु भयो । उहाँले यो बेलामा बालबालिकाहरूमा यौन हिंसा बढेको पनि बताउनु भयो ।

‘अधिकांश बालबालिकाहरू चिनजानका मानिस र परिवारका सदस्यबाटै यौन दुर्व्यवहार तथा बलात्कारमा पर्ने गरेका तथ्यहरूले पुष्टि गरेको छ ।’–तुलाधरले भन्नु भयो ।

कोभिड–१९ ले महिला अधिकारमा पारेको असरका विषयमा ओरेक नेपालकी कार्यक्रम संयोजक सञ्जिता तिम्सिनाले संरचनागत रूपमा नै महिला बढी पीडित हुँदै आएको उल्लेख गर्दै पछिल्लो समयमा पछाडि पारिएका समुदायका नागरिक झनै पीडित हुँदै आएको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘अहिले महिला निकै पीडित भएका छन् । त्यसमा पनि दलित महिलाहरू झनै पीडित छन् ।’ कोभिड–१९ ले अपाङ्गता भएका व्यक्तिहरूमा पारेको असरका विषयमा नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष टीका दाहालले अपाङ्गता भएका व्यक्तिले समाजमा विभेद भोग्नु परेका घटना विद्यमान रहेको बताउनु भयो ।

‘अपाङ्गता भएकाहरूमा पनि महिला त्यस्ता विभेदबाट बढी मात्रामा पीडित हुने गरेका छन् ।’–दाहालले भन्नु भयो ।


अनलाइन डेस्क