महिला बन्दी गृह नहुँदा समस्या

  ०७७ कात्तिक १२ गते

कुश्मा नगरपालिका अवस्थित जिल्ला कारागारमा महिला कैदीबन्दी गृह नहुँदा समस्या भएको छ । विगतका समयमा विभिन्न घटनाका आरोपित र अभियुक्त महिलाहरूलाई राख्नका लागि पर्वत जिल्ला कारागारमा बनाइएको महिला कैदीबन्दी गृहको पर्खाल वर्षाले भत्किएपछि समस्या भएको हो ।

२५ जना कैदीबन्दीको क्षमता भएको पर्वत जिल्ला कारागारकै पुरानो संरचनामा महिलाहरूलाई पनि व्यवस्थित गरिदै आएको थियो । गत साउन ६ गते महिलाहरू बस्ने तर्फको कारागारको सुरक्षा पर्खाल भत्किएपछि अहिले त्यहाँ रहेका महिला कैदीबन्दीलाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी पठाइएको छ ।

पर्वत जिल्ला अदालतमा मुद्दा सुनुवाइको प्रक्रियामा रहँदा आरोपित र अभियुक्तलाई अन्यत्र जिल्लामा पठाएपछि कैदीबन्दीका आफन्तहरू भेटघाट गर्नबाट वञ्चित भएको र कैदीबन्दीहरूले पनि असहज महसुस गरेको पर्वत जिल्ला अदालत बार इकाइका अध्यक्ष चन्द्रबहादुर क्षेत्री बताउनुहुन्छ ।

अदालतमा मुद्दा सुनुवाइका क्रममा कानुन व्यवसायी, आफन्तजन लगायतका अन्य सम्बन्धित पक्षलाई भेटघाट गर्न समस्या भएको उहाँको भनाइ छ । अहिले आठ जना भन्दा बढी महिला कैदी बन्दीको पर्वत जिल्ला अदालतमा मुद्दा सुनुवाइ प्रक्रियामा रहेको छ ।

कैदीबन्दी अर्को जिल्लामा हुँदा प्रहरीलाई समेत उपस्थित गराउन समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले बताउनुभयो ।

सरोकारवालाहरूले कारागारको मर्मत कार्य तत्काल गर्न माग गरेका छन् ।

photo20201028parbat

 


सन्तोष थापा